गण्डकी प्रदेश

रुखले च्यापेर बालिकाकोे मृत्यु

दमौली, तनहुँ । व्यास नगरपालिका– ६ पातलटारमा आज सालको रुख ढलेर च्यापिँदा एक स्कूले बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा तेजबहादुर थापाकी १० वर्षीया छोरी बिनिसा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिनिसाको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो । घाइते हुनेमा थापाकै छोरीहरु १२ वर्षीया अस्मिता र आठ वर्षीया सोनिसा छन् ।

उनीहरुलाई सोही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएकोे प्रहरीले जनाएको छ । माहेन्द्री मार्गमा पर्ने रातमाटामाथिको सालको रुख ढलेर च्यापिँदा ती बालिका घाइते भएका हुन् ।

सिसाघाटस्थित न्यू कालिका एकेडेमी बोर्डिङमा पढ्दै गरेका ती बालिका विद्यालय जाँदै गर्दा रुख ढलेर च्यापिएको जिल्ला प्रहरी कार्यालयबाट घटनास्थल पुग्नुभएका प्रहरी हवल्दार चन्द्रबहादुर रानाले बताए । वर्षाका कारण जमीन गलेकाले रुख ढलेर ती बालिकामाथि बज्रिएको बताइएको छ ।

खोलाले बगाएर मृत्यु

शुक्लागण्डकी नगरपालिका– ११ स्थित क्याङ्दी खोलाले सोमबार साँझ बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा शुक्लागण्डकी– ११ का ५१ वर्षीय नीलबहादुर गुरुङ रहेको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक श्रवणकुमार विकले बताए। खोलाले बगाएर गम्भीर घाइते भएका गुरुङलाई फूलबारी अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो । बेपत्ता हुनेमा भिमाद नपा– ८ का ५७ वर्षीय यमबहादुर कुमाल रहेको जानकारी प्रहरी निरीक्षक विकले दिए।

बढेर आएको उक्त खोला तर्ने क्रममा दुवैलाई बगाएको थियो । गुरुङको शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको र बेपत्ता भएका कुमालको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ ।