समाचार

केही दिनदेखिको परेको अबिरल वर्षापछि आएको बाढीपहिरो पीडितको प्रबन्ध गर्न आग्रह

काठमाडौँ । नेपाली काँग्रेसले बाढीपहिरोबाट पीडित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई प्रभावकारी रूपमा तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेको छ ।

उक्त दलले आज जारी गरेको विज्ञप्तिमा प्राकृतिक विपत्को यस घडीमा पीडित परिवारलाई तत्काल खाद्यान्न, लत्ता कपडा, भाँडाकुडा, औषधि र अस्थायी बसोवासको यथाशीघ्र उचित प्रबन्ध गर्न आग्रह गरेको हो ।

काँग्रेसले बाढी र पहिरोमा परी जीवन गुमाएका सम्पूर्ण नागरिकमा श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । सो घटनामा घाइते हुनेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
बाढी, पहिरो र डुबानका कारण क्षति भएका सडक, विद्यालय, पुलपुलेसालगायतका भौतिक पूर्वाधारको यथाशीघ्र पुनःनिर्माणका लागि समेत उक्त दलले सरकारको ध्यानाकर्षण गराएको छ ।

केही दिनदेखिको परेको अबिरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न जिल्लामा धनजनको ठूलो क्षति हुनाका साथै जनजीवन अस्तव्यस्त भएको छ ।

बाढी पहिरोबाट कैलाली, बाँके, सिन्धुली, रोल्पा, चितवन, पर्सा, महोत्तरी, सुनसरी लगायतका जिल्लामा डेढदर्जन भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको तथा ठूलो संख्यामा मानिस बेपत्ता र विस्थापित हुनका साथै कैयौं व्यक्ति घाइते भएका छन् ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा हजारांै हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको, पहिरो र डुबानका कारण सडक यातायात अवरुद्ध भएको घटनाप्रति दुःख व्यक्त गरिएको छ ।

विज्ञप्तिमा बाढी र पहिरो प्रभावित सम्बन्धित जिल्लाका काँग्रेस पदाधिकारी भ्रातृ संगठन एवं शुभेच्छुक संस्थाका नेता तथा कार्यकर्तालाई परिचालन गरी उद्धार, राहत र उचित बसोवासको व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ ।

पहिरो एवं डुबानमा पर्नसक्ने थप जोखिम क्षेत्रको पहिचान गरी त्यस क्षेत्रबाट अन्य सुरक्षित स्थानमा मानिसलाई स्थानान्तरण गराउने कार्यमा जुट्न समेत कार्यकर्तालाई विज्ञप्तिमा भनिएको छ ।