समाचार

दुईवटै मिर्गौलामा समस्या हुँदा सहयोगको याचना

काठमाडौँ । भूकम्पपीडित रमिता कार्कीका दुईवटै मिर्गौला फेल भएर लामो समयदेखि अस्पतालमा उपचारका क्रममा रहेपछि आश्रित परिवारले सहयोगको आग्रह गरेका छन् ।

दोलखाको भीमेश्वर नगरपालिका–८ जिलु स्थायी बसोबास गर्दै आउनुभएकी कार्की विगत सात महिनादेखि काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार गराईरहेका छन् ।

विसं २०७२ मा पटकपटक गएको भूकम्पबाट दोलखाकै सिंगटीलाई केन्द्र बनाएर गएको भूकम्पले उनको घर पूरै ध्वस्त बनाएको थियो । छोरा रवि कार्कीले आमालाई सञ्चो नभएपछि अस्पताल ल्याउँदा चिकित्सकले दुवै मिर्गौलाले काम गर्न नसक्ने बताएपछि परिवारमा समस्या आएको बताए ।

उनले भने, “भूकम्पबाट विस्तारै तग्रिँदै थियौँ, आमा बिरामी भएपछि उपचारमा सबै ऋण सकियो, अब केही बाँकी छैन । आर्थिक अभावकै कारण आमाको ज्यान जाने भयो, सहयोगको लागि सबैसँग अपेक्षा गरेका छौँ ।”

प्रत्येक हप्ता एक पटक डायलाइसिस गर्दा रमिताको स्वास्थ्यमा केही सुधार भएको छ । चिकित्सकका अनुसार अझै धेरै समय डायलाइसिस गर्नुपर्छ तर आर्थिक अभावका कारण उपचार नै रोकिएकाले सहयोगका लागि सबैसँग छोरी सुस्मिताले आग्रह गरे । पति बालकृष्णले मजदूरी गरेर घर खर्च चलाउनुका साथै छोराछोरीलाई पढाउँदै आएका थिए ।