समाचार

गंगामाया अधिकारीको जीवनरक्षा गर्न आयोगद्वारा सरकारलाई आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानबिन र दोषीमाथि कानूनी कारबाहीको माग गर्दै अनशनमा बस्नु भएका गंगामाया अधिकारीको जीवन रक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज विज्ञप्ति जारी गरी अधिकारीको स्वास्थ्य बिग्रन नदिई जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न पटक–पटक नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरेको पाइएकाले जीवनरक्षा र शीघ्र न्यायप्राप्तीका लागि समेत अविलम्ब प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।

लामो समयदेखि अनशनमा बस्दा गंगामायाको स्वस्थ्य अवस्था अत्यन्त गम्भीर र जटिल बन्दै गएको पाइएको आयोगले जनाएको छ । आयोगका सदस्य सुदीप पाठकको नेतृत्वको टोलीले आज गंगामायाको स्वास्थ्यावस्थाबारे अनशनस्थल वीर अस्पतालमा पुगेर अनुगमन गरको थियो ।

आयोगले अधिकारीको घटनाका बारेमा अनुसन्धान गरी दोषीउपर फौजदारी अभियोगमा कारबाही चलाउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन विसं २०६५ चैत २३ गते नेपाल सरकारलाई सिफारिश गरेको थियो ।

अनुगमनका क्रममा बिरामीलाई संक्रमण हुनसक्ने कारण देखाई अस्पताल प्रशासनले कसैलाई पनि भेट्न नदिएको देखिएको जनाएको छ ।