कृषि

पचास प्रतिशत अनुदानमा कृषि उपकरण

त्रिशूली, नुवाकोट । बेलकोटगढी नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदानमा आधुनिक कृषि उपकरण किसानलाई दिएको छ ।
बेलकोटगढी – १० बेलकोटगढीमा रहेको नमूना कृषक सहकारी संस्थामा आबद्ध किसानलाई १२ थान मिनीट्रिलर र तीन थान पावर ट्रिलर प्रदान गरिएको हो । नमूना सहकारीमार्फत ९० ट्रयाक्टर वितरण गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ । उत्पादन भएका सामग्री जोख्नका लागि ३६ डिजिटल काँटासमेत प्रदान गरिएको छ ।

किसानलाई सामग्री प्रदान गरेपछि नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले कृषिबाट बेलकोटगढी नगरपालिका समृद्ध बन्ने भएकाले प्राप्त भएका उपकरणको सही प्रयोग गरेर उत्पादन बढाउन किसानलाई आग्रह गरे ।

उत्पादन लागत घटाई बाँझो जमीनमा खेती गराउनका लागि किसानलाई आकर्षित गराउन सहकारीमार्फत आधुनिक प्रविधि हस्तान्तरण गरिएको नगरपालिकाका बागवानी विकास अधिकृत छविलाल शर्माले बताए ।

बजार मूल्यअनुसार रु। ५५ हजार पर्ने मिनीट्रिलर बोलकबोल प्रणालीमार्फत रु ४१ हजार ५०० मा खरीद गरी किसानलाई ५० प्रतिशत छुटमा प्रदान गरिएको नगरपालिकाले जनाएको छ । परियोजनाअन्तर्गत नै बेलकोटगढी –७ रातमाटेका किसानलाई पनि १५ मिनीट्रिलर र पाँच डिजिटल तराजु ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको वडाध्यक्ष हेमनिधि नेपालले जानकारी दिए ।