राजनीति

लोकतन्त्रको सुदृढीकरणमा नेपाली प्रेस गोलबद्ध हुनुपर्ने

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले काँग्रेसले पुनःएक पटक अधिनायकवाद र स्वतन्त्र प्रेसको अधिकारका लागि लड्नुपर्ने बताए ।

नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको ‘लोकतन्त्रमा प्रेसको भूमिका’ विषयको अन्तरक्रियामा उनले अधिनायकवादमा स्वतन्त्र प्रेसको परिकल्पनासमेत गर्न नसकिने विचार राखे ।

काँग्रेसका सचेतक पुष्पा भुसालले सरकारले संसद् बाहिर पत्रकारलाई र संघीय संसद्भित्र काँग्रेसलाई देखाएको व्यवहार सर्वसत्तावादी भएको बताए । वरिष्ठ पत्रकार हरिहर विरहीले प्रेसमाथिको हमला क्रमशः बढ्दै गएको टिप्पणी गरे । पत्रकार देवप्रकाश त्रिपाठीले कम्युनिष्टहरु वर्गीय सोचभन्दा माथि उठ्न नसक्ने बताए ।

नेपाल पत्रकार महासंघका पूर्वसभापति डा सुरेश आचार्यले लोकतन्त्रको सुदृढीकरणमा नेपाली प्रेस पुनः एक पटक गोलबद्ध हुनुपर्ने समय आएको बताए । अन्तक्रियामा पत्रकार त्रिपाठीले प्रस्तुत गरेको कार्यपत्रमाथि विभिन्न पत्रकारले टिप्पणी गरेका थिए।