उर्जा

नेपालको ऊर्जा क्षेत्रमा सहयोगका लागि आग्रह

काठमाडौँ । सरकारले नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराउन जापान सरकारलाई आग्रह गरेको छ ।

ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुनसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले गरेका भेटवार्तामा सो आग्रह गरिएको हो ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री पुनले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकार लागिपरेकाले सहयोगका लागि जापानी राजदूतलाई आग्रह गरेका हुन् ।

मन्त्री पुनले भने, “हामीले ऊर्जा र जलविद्युत्को क्षेत्रमा निकै महत्वकांक्षी लक्ष्य राखेर अघि बढेका छौँ, यसमा जापानबाट हामीले ऋण, सहयोग र लगानीको अपेक्षा गरेका छौँ ।”

उनले जापानको निजी क्षेत्रलाई पनि नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि वातावरण बनाइदिनसमेत राजदूत साइगोसँग आग्रह गरे । मन्त्री पुनले जापान नेपालको पुरानो र भरपर्दो विकास साझेदार मुलुक भएको भन्दै आगामी दिनमा समेत नेपालको विकासमा जापानको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।

भेटमा जापानी राजदूत साइगोले नेपाल र जापानको सम्बन्ध विगतदेखि सुमधुर रहेको भन्दै आगामी दिनमा समेत दुई देशको सम्बन्ध अझ मजबुत बन्ने धारणा राखे । उनले नेपालमा जापानले शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दैै आगामी दिनमा ऊर्जा र जलस्रोतको क्षेत्रमा काम गर्न जापान इच्छुक रहेको बताए ।

जापानी राजदूत साइगोलले जापानले कुलेखानी–१, कुलेखानी–२ र कालीगण्डकी ‘ए’मा समेत सहयोग गरेको जानकारी दिँदै आगामी दिनमा समेत ऊर्जा क्षेत्रमा सहकार्य गर्न जापान तयार रहेको धारणा राखे ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले जाजरकोटस्थित नलगाड जलविद्युत् परियोजना तयारी अवस्थामा रहेको भन्दै उक्त परियोजना निर्माणमा सघाउनसमेत जापानी राजदूतलाई आग्रह गरेका थिए ।