गण्डकी प्रदेश

महभिर झरनाको फेदीमा कृतिम पोखरी निर्माण

बाबियाचौर, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण भएको छ ।

ओझेलमा परेको महभिर झरनामा पर्यटक भित्र्याउनका लागि गाउँपालिका, वडा कार्यालय र स्थानीयवासीले पूर्वाधार निर्माण गरेका हुन् । गाउँपालिकाको रु पाँच लाख अनुदानमा झरनाको फेदीमा यस वर्ष कृतिम पोखरी निर्माण भएको छ ।

असी वटा ग्यावियन भरेर पर्खाल लगाई दुई मिटर गहिरो पोखरी बनाइएको उपभोक्ता समितिका सदस्य हेम गर्बुजाले बताए । वरपर पर्खाल लगाएर घेराउ गरी आकर्षक पोखरी बनाइएको छ ।

पोखरी बनाएपछि झरना थप आकर्षक देखिएको छ । आगामी वर्ष रेलिङ, पार्किङस्थल र प्रतिक्षालय निर्माण गर्ने योजना रहेको छ । झरनादेखि करीब ५० मिटर नजिक रहेको बेनी जोमसोम सडकमा दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आवतजावत गर्छन् ।

प्रचारप्रसार र पूर्वाधारको कमीले झरना सुनसान अवस्थामा छ । पहाडको फेदीमा करीब १०० मिटर माथिबाट निकै आकर्षक र मनमोहक देखिने महभिर झरना पूर्वाधार विकास, प्रचारप्रसार र प्रवर्धन हुन नसक्दा ओझेलमा परेको छ । उक्त झरना नजिकै मन्दिर पनि रहेको छ । जहाँ पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले झरनाको धार्मिक महत्वसमेत छ ।

यातायातको पहुँच रहेकाले उक्त झरनामा साहसिक खेल क्यानोइङ पनि सञ्चालन गर्न सकिने सम्भावना रहेको वडाध्यक्ष गमबहादुर फगामीले बताए । स्थानीयवासी र सरोकारवालासँग समन्वय गरेर झरनालाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने अध्यक्ष फगामीले बताए ।

पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाएपछि प्रवेश शुल्क लिने र गाउँपालिकाको आयस्रोतका रुपमा समेत परिचालन गर्न सकिने सम्भावना रहेको वडाध्यक्ष फगामीले बताउनुभयो । झरनाको पर्यटन विकास गर्नसकेमा नजिकै होटल तथा रेष्टुराँ, होमस्टे सञ्चालन गरेर स्थानीयवासीले आम्दानी गर्नसक्ने सम्भावनासमेत छ ।