प्रदेश 2

अविरल वर्षाका कारण यातायात आवागमनमा समस्या

लहान । लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ । नालाको उचित व्यवस्थापनको अभावमा पानीको निकास नहुँदा पूर्व पश्चिम राजमार्गमा समेत पानी जमेकाले सवारीसाधन आगमनमा समस्या भइरहेको हो ।

मिर्चैयाको थाना चोक एरिया र बजार एरियाको अधिकांश घरमा पानी पसेको छ । वर्षाले मिर्चैयाका सडक तथा बाटो जलमग्न र हिलाम्य भएको छ ।

नगरभित्र ढल तथा पानी निकासको लागि नालाको उचित व्यवस्थापन नहुँदा सामान्य वर्षा हुँदा पनि पानी सडकमै जम्ने गरेकाले हिलाम्य हुने गरेको छ । सडकमा पानी जमेर हिलाम्य हुँदा पैदल हिँडडुल गर्नसमेत कठिनाइ भएको स्थानीय महेन्द्र साहले बताए ।

अविरल वर्षाका कारण जिल्ला मिर्चैयाको साथै गोलबजार, लहान, सुखीपुर, कल्याणपुर, बस्तीपुर, धनगढीमाई, सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रको सडक हिलाम्य र जलाम्य भएको छ ।