प्रदेश 2

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकमा आइतबार साँझ ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज १ ख ७४५१ नंको ट्रकको ठक्करबाट साइकलयात्री धनुषाको सबेला नगरपालिका–७ निवासी २५ वर्षीय नरेशकुमार महराको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका महरालाई उपचारका लागि लहानस्थित अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।