स्वास्थ्य

जिल्ला अस्पताल दयनीय अवस्थामा

दार्चुला । दार्चुलाको जिल्ला अस्पताल दयनीय अवस्थामा पुगेको छ ।  विगतमा जिल्ला अस्पताललाई केन्द्रबाट आउने बजेट यस वर्ष थोरै आउनु र यहाँका स्थानीय तहले आवश्यक बजेट नदिँदा जिल्ला अस्पताल बजेट अभावमा दयनीय बनेको हो ।
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र दयनीय अवस्थामा हुँदासमेत सम्बन्धित निकाय मौन बसेको छ । “ल्याबमा काम गर्दा प्रयोग गरिने सर्जिकल आइटमको अभाव छ, किन्नलाई बजेट छैन, ” अस्पतालका प्रमुख डा रविरञ्जन शाहले भने ।
जिल्ला अस्पताललाई गत वर्षको भदौदेखि हालसम्म केन्द्र तहदेखि स्थानीय तहबाट खासै सहयोग नभएको प्रमुख डा शाहले बताए । यस वर्ष जनस्वास्थ्यलाई आएको रु २५ लाखको बजेटबाट औषधि खरिद गरेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिएको उनको भनाइ छ ।

अस्पताल दयनीय बनेको अवस्था प्रदेश सरकारलाई अवगत गराएपछि रु तीन लाख मात्रै उपलब्ध गराउने भनी जानकारी आएको प्रमुख डा शाहले बताए । त्यो पनि उपकरण खरिदका लागि तोकेर आउने कुरा भएको उनले जानकारी दिए ।

विगतमा अस्पताललाई केन्द्रबाट आउने गरेको एक बिरामीबापतको रु १० का दरले रु १७/१८ लाख केन्द्र सरकारले स्थानीय तहलाई पठाएपछि झन समस्या थपिएको हो । त्यसैगरी टिकट छपाईबापत आउने बजेटसमेत नआएको उनको भनाइ छ । सरकारले धेरैजसो सेवा सुविधा निःशुल्क गर्दा पनि अस्पतालमा बजेटको अभाव भएको प्रमुख डा शाहले बताए ।

अस्पताललाई संस्थागत सुत्केरी गराएबापत वार्षिक आउने गरेको रु १२/१३ लाखसमेत यस वर्ष नआएपछि अहिले जिल्ला अस्पतालले बजेटको चरम संकट भोगिरहेको छ ।
अस्पतालले स्थानीय व्यापारीलगायत औषधि खरिद गरेबापतको रु २० लाख गत वर्षको पैसा तिर्न बाँकी रहेको छ । अस्पतालले यस वर्ष गरेको प्रस्तावित आयमा समेत दोब्बरले कमी आएको छ ।
महाकाली नगरपालिकाले जिल्ला अस्पताललाई नगर अस्पतालमा रुपान्तरण गरेमात्रै बजेट उपलब्ध गराउने जनाएको छ । यस्तै जिल्लाका अन्य स्थानीय तहले समेत अस्पताललाई बजेट उपलब्ध नगराउँदा अस्पताल दयनीय बनेको हो ।