समाचार

प्रदेश नं ४ को राजधानी पोखरा हुनुपर्नेमा जोड

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा सदस्यहरुले प्रदेशको राजधानी पोखरा हुनुपर्नेमा जोड दिएका छन् ।

बैठकको शुरुमानै प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले प्रदेश राजधानी सम्बन्धमा छलफल गरियोस् भन्दै गरेको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति दिएको थियो । छलफलमा सहभागी हुँदै सदस्यहरुले भौगोलिक अवस्थिति, पूर्वाधार विकासका साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रियरुपमा परिचित पोखरा निर्विकल्प राजधानी हुने बताए ।

प्रदेशसभा सदस्य मायानाथ अधिकारीले पोखरा प्रदेश नं ४ को राजधानी हुने विषय हिजो देखिनै सर्वस्वीकार्य जस्तो भएको बताए । पश्चिमाञ्चलको केन्द्रका साथै साविक गण्डकी अञ्चलको सदरमुकामसमेत पोखरा रहेको उल्लेख गर्दै उनले भौतिक पूर्वाधार पर्याप्तता एवं प्रशासकीय कार्यालय पनि यहीँ रहेका कारण राजधानी बन्न उपयुक्त स्थल भएको बताए ।

प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले प्रदेश नं ४ को अस्थायी राजधानी तोकिएयता स्थायी राजधानी पनि पोखरानै बन्ने लगभग निश्चित बनेको धारणा राखे । उनले भौगोलिक अवस्थिति, सुन्दरताका साथै सबै जिल्लाको व्यापारिक केन्द्र पोखरा रहेको बताउँदै मुस्ताङदेखि नवलपुर त्रिवेणीको बीच भागमा रहेका कारण पनि राजधानी तोकिनु उपयुक्त हुने बताए ।

प्रदेशसभा सदस्य रामजी बरालले देशभित्रमात्र नभएर बाहिर पनि पोखरा सबैको प्यारो नाम भएकामा जोड दिँदै प्राकृतिक सुन्दरता, भूगोल, पूर्वाधार विकास सबै आधारमा राजधानी बन्नु आवश्यक भएको बताए ।

प्रदेशसभा सदस्य हरिशरण आचार्यले प्रदेशको राजधानी पोखरा सबैको साझा प्रस्तावकारुपमा आएको बताउँदै हिजोको केन्द्रीकृत सत्ताको सोचलाई बदल्दै संघीयताको मर्म अनुरुप अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

छलफलमा प्रदेशसभा सदस्य धनन्जय दवाडी, ललितकला गुरुङ, दीपक कोइराला, इन्द्रलाल सापकोटा, बिन्दु कुमार थापा, दीपक थापा, सरिता गुरुङ, मीनप्रसाद गुरुङ, प्रभा कोइराला, पुष्पा केसी भण्डारी, राजीव पहारी, कृष्णबहादुर थापा, मधुमाया अधिकारी गुरुङ तथा कुमार खड्काले भाग लिएका थिए ।

बैठकमा सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रस्तुत गरेको खोपसेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको छ । प्रदेशसभाको अर्को बैठक सोमबार अपराह्न २ बजे बस्नेछ ।