राजनीति

दिगो विकासको आधारमा समृद्धिको मार्गचित्रः नेता नेपाल

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले प्रदेश नं २ मा दिगो विकासको सिद्धान्तलाई आत्मसात गरी समृद्धिको मार्गचित्र बनाउनुपर्ने बताएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रदेश सरकारद्वारा यहाँ आयोजित ‘समृद्धिको चाहनाः सम्पन्न प्रदेश २ को चाहना’ विषयक गोष्ठीमा उनले प्रदेश नं २ मा विकासका विशाल सम्भावना रहेकाले समृद्धिको सपनालाई साकार तुल्याउन क्षेत्रगत तथा जिल्लागत विशेषताको पहिचान गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

पूर्वप्रधानमन्त्री नेपालले प्रदेशको मानव संशाधन, कृषि विकास र व्यावसायीकरण, पूर्वाधार तथा संरचना निर्माण र सञ्चालन, सामाजिक पूर्वाधार, औधोगिक र लगानी, आवास तथा शहरी विकास नीति दीर्घकालीन सोचलाई ध्यानमा राखी तर्जुमा गरिनुपर्छ भने । समृद्धिको गन्तव्यका बाधक तत्वलाई परास्त गर्न जनचेतना र सामूहिक प्रयासको खाँचो उनले औँल्याए ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो स्रोतमा अधारित समृद्धिको यात्राको परिकल्पना गर्नुपर्ने धारणा राखे । उनले प्रदेश नं २ लाई विकासको ‘ब्राण्ड प्रदेश’का रूपमा पहिचान स्थापित हुने गरी विकास निर्माणको योजना र नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रको हस्तक्षेप बन्द नभएसम्म प्रदेश सरकारको अनुभूति गराउन कठिन भएकोतर्फ ध्यानाकर्षण गराए ।

प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्रप्रसाद सोनारले मानव संशाधनको उचित व्यवस्थापन, आर्थिक सामाजिक सूचकमा सुधार र चेतना अभिवृद्धि, उपलब्ध स्रोतको कुशल व्यवस्थापन, लगानी अभिवृद्धि, कृषि उत्पादनमा वृद्धि, वित्तीय पहुँचमा अभिवृद्धि, नदी नियन्त्रण र उपयोग जस्ता पक्षलाई ध्यानमा राखी दूरदृष्टि (सन् २०३० सम्मको) बनाउनुपर्ने बताए ।