बाग्मती

गैंडाको स्वास्थ्य परीक्षण हुँदै

रत्ननगर । सरकारले चीनलाई उपहार दिन लागिएको २ जोडी गैंडाको नेपाली र चिनिया चिकित्सक टोलीद्वारा स्वास्थ्य परीक्षण थालिएको छ ।

यही असार १५ गते चीनको पशु क्वारेन्टाइनबाट आउनुभएका भेटेरिनरी चिकित्सक डा वाङ्ग र नेपाली भेटेरीनरी चिकित्सक टोलीले गैंडाको अन्तिम स्वास्थ्य परीक्षण थालेको हो ।

नेपाली भेटेरिनरी चिकित्सक डा कमल गैंरे, डा अमिर षडौला, भेटेरिनरी प्रविधिज्ञ पुरुषोत्तम पाण्डे र किरण रिजालसहित वाङ्गको टोलीले गैंडाको स्वास्थ्य परीक्षण गरिरहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यालय प्रमुख रामकुमार अर्यालले जानकारी दिए ।

उनका अनुसार अन्य आठ वन्यजन्तु प्रविधिज्ञ गैंडाको रेखरेखमा खटिएका छन् । यसअघि गैंडाको अवस्था बुझ्न यही असार १३ गते चीनबाट आएको विज्ञ टोली असार १६ गते फर्किसकेको छ ।

चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा पिट बोमा (सानो खोर) मा राखिएको दुई जोडी गैंडामा मुख्य गरी खोरेत, क्षयरोग र ब्लूटङ्ग (नीलो जिब्रा हुने समस्या) लगायत रोगको परीक्षण भइरहेको स्वास्थ्य परीक्षणमा सहभागी डा अमिर षडौलाले जानकारी दिए । नमूना संकलन गरेर त्यसको प्रयोगशाला परीक्षण गरिने छ ।

विगतदेखि नै गैंडाको स्वास्थ्य अवस्थाको अध्ययन गर्दै आएका डा कमल गैरेले भने अहिलेसम्म सबै गैंडा तन्दुरुस्त रहेको प्रतिक्रिया दिए ।

पहिलो चरणमा यही असार २८ गते चीन पठाउने तयारी गरिएको एक जोडी गैंडामध्ये भाले गैंडाको नाम ‘भद्र’ र पोथी गैंडाको नाम ‘रुपसी’ राखिएको छ ।

गएको वैशाखमा चितवन निकुञ्जको पश्चिम सेक्टरबाट तीन वटा गैंडालाई नियन्त्रणमा लिएर सौराहामा राखिएको छ । अर्को एउटा गैंडा भने भारतबाट उद्धार गरी ल्याइएको हो ।