समाचार

चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडकमार्गको दुरवस्थाविरुद्ध जनता सडकमा ओर्लिए

काठमाडौँ । चावहिल–बौद्ध–जोरपाटी–साँखु र जोरपाटी–सुन्दरीजल मूल सडकको दुरवस्थाविरुद्ध राजनीतिक दलका नेतासहित विभिन्न पेशा तथा क्षेत्रमा आबद्ध मानिस सडकमा ओर्लिएका छन् ।

नागरिक दवाव अभियानको नेतृत्वमा शुरु भएको कार्यक्रममा ऐक्यबद्धता जनाउँदै स्थानीयवासीले वर्षौंअघिदेखि सडक जीर्ण भई लाखौँ प्रयोगकर्ताले दुःख पाउँदा समेत सरोकार निकाय मूकदर्शक बनेको आरोप लगाए ।

जोरपाटी चोकमा आज भएको विरोधसभालाई सम्बोधन गर्दै अभियानका संयोजक दीपकसिंह भण्डारीले चाबहिल–बौद्ध–जोरपाटी–साँखु र जोरपाटी–सुन्दरीजल सडकखण्ड कालमार्गमा परिणत भएको आरोप लगाउँदै सडक बनाउन कसैले अग्रसरता नदेखाएकाले नागरिकस्तरबाटै दवाव अभियान थालिएको प्रष्ट पारे ।

अभियानका सहसंयोजक कुमारराज सुवेदीले एक्काइसौँ शताब्दीमा महानगरवासी नारकीय जीवन बिताउन बाध्य हुँदा पनि कसैको ध्यान नजानु लाजमर्दो भएको गुनासो गर्नुभयो । नेपाली काँग्रेस महासमिति सदस्य विमल ठकुरीले सडककोे अवस्था सुधार्नका लागि निर्वाचित जनप्रतिनिधिले काम गर्न नसकेको टिप्पणी गरे ।

सभामासाहित्यकार गोविन्दप्रसाद घिमिरे, मानवअधिकार तथा शान्ति समाजका पूर्वअध्यक्ष होमकान्त चौलागार्इं, चिकित्सक सुवास प्याकुरेल, एनसिसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याललगायतले असारे भाकामार्फत व्यङ्ग्य गर्दै राजधानी केन्द्रका जनता वर्षौंदेखि प्रताडित हुनु राष्ट्रिय लज्जाको विषय भएको बताए ।

सडक सुधार्न थालिएको नागरिक दवाव अभियानमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी, समता मानवअधिकार तथा नागरिक समाज, नव दुर्गा महिला समूहलगायत संघसंस्थाले ऐक्यबद्धता जनाएका थिए ।