समाचार

दाहाल पत्नी सीताको स्वास्थ्यमा सुधार, आज स्वदेश फर्किने

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थमा सुधार आएको छ । श्रीमती दाहाल यही असार ३ गते उपचारका लागि अध्यक्ष दाहालसँग सिङ्गापुर गएका थिए ।

जलचिकित्सा र चिकित्सकको सुझावअनुसारको औंषधि सेवनले उनको स्वास्थ्यमा सुधार आएको छ । तीन महिनापछि उनी पुनः जाँचका लागि सिङ्गापुर जानुपर्ने छोरी भरतपुर महानगर प्रमुख रेणुले बताए ।

स्वास्थ्यमा सुधार आएपछि उनीहरु आज राति काठमाडौँ आउँदै छन् । उनीसँगै गएका छोरी गंगा र भतिजा समीर यही असार १० गते नै फर्किसकेका छन् ।

यसअघि नयाँ दिल्लीमा सीताको उपचार गरिएको थियो । छोरी रेणुका अनुसार भाइ प्रकाशको निधनपछि आमालाई समस्या देखिएको हो । त्यस अघिसम्म घरायसी सबै काम गर्नसक्ने आमा एकाएक भाइको निधनपछि कमजोर हुँदै गएको उनले बताए । उनलाई उच्च रक्तचाप, मधुमेहजस्ता समस्या रहेको बताइएको छ ।