कर्णाली प्रदेश

राज्यका निकायसँग वृद्धाश्रमको लगत नै छैनः बस्ती

नेपालगञ्ज । नेपालमा सञ्चालित वृद्धाश्रम र ज्येष्ठ नागरिक हेरचाह केन्द्रलाई थप व्यवस्थित गर्न सबैको सामूहिक प्रयास हुनुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले आज यहाँ आयोजना गरेको ‘वृद्धाश्रम र ज्येष्ठ नागरिक हेरचाह केन्द्रमा आश्रित जेष्ठ नागरिकको अवस्था’ विषयको अन्तक्र्रियाका सहभागीले केन्द्रलाई थप व्यवस्थित गर्न सामूहिक प्रयासको आवश्यकता भए पनि सरकारले यसका लागि ठोस संरचना निर्माण गर्नुपर्ने सुझाव दिए ।

बाँके, बर्दिया, दाङ र नवलपरासीका वृद्धाश्रम सञ्चालक, मानव अधिकारकर्मी, पत्रकार, कानून व्यवसायी, जनप्रतिनिधिलगायतको सहभागिता रहेको अन्तक्र्रिया कार्यक्रममा आयोगका सदस्य प्रकाश वस्तीले नेपालमा अहिले ५३ वृद्धाश्रम सञ्चालनमा रहेको जानकारी दिए । उनले भने, “राज्यका निकायसँग सबै वृद्धाश्रमको लगत नै छैन, आयोगले अहिले आप्mनै पहलमा वृद्धाश्रमका विभिन्न पक्षको सर्वेक्षण गरिरहेको छ ।”

त्यस अवसरमा प्रदेश नं ५ का सदस्य इन्द्रप्रसाद खरेल, आयोगका सचिव वेदप्रकाश भट्टराई, क्षेत्रीय निर्देशक मुरारी खरेल, प्रहरी उपरीक्षक टेकप्रसाद तामाङ, अधिकारकर्मी भोला महतलगायतले जेष्ठ नागरिकको व्यवस्थित जीवनयापनका सम्बन्धमा राज्य गम्भीर हुनुपर्ने धारणा राखे ।