बाग्मती

भूकम्पपिडित रमिताका दुवै मिर्गौलाले काम नगरेपछि

काठमाडौँ । भूकम्पपीडित रमिता कार्कीका दुई मिर्गौलाले काम गर्न छाडेपछि परिवारमा दुःख निम्तिएको छ ।

दोलखा, भीमेश्वर नगरपालिका–८ जिलु निवासी कार्कीले मिर्गौला बिग्रेपछि सात महिनादेखि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार गराइरहकी छन् । यहाँ आज आयोजित संवाद डबलीमा उनका छोरा रविले आमालाई सञ्चो नभएपछि उपचारार्थ अस्पताल ल्याउँदा चिकित्सकले उनका दुवै मिर्गौला बिग्रेको जानकारी दिएको बताए ।

गोरखा भूकम्पबाट घर क्षतिग्रस्त भएपछि दुःख व्यहोर्दै आएको उनको परिवारमा दुवै मिर्गौला बिग्रिएपछि उपचारका लागि सापट लिएको ऋण पनि सकिएपछि झन् समस्या थपिएको छ । आमालाई सहयोग गरी बचाइदिन सम्बन्धित निकायसँग उनले याचना गरे । यसअघि बालकृष्ण र रमिता दम्पतीले मजदुरी गरी घरखर्च चलाउनाका साथै छोराछोरीलाई पढाउँदै आएको थियो ।