प्रदेश 1

ट्याक्टरबाट हामफाल्दा चक्काले किचेर ज्यान गयो

सुरुङ्गा । झापाको बुद्धशान्ति गाउँपालिका– ३ बुधबारेमा ट्याक्टरबाट ओर्लने क्रममा एक व्यक्तिको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार उनी पुलचौकबाट ट्याक्टरमा लिफ्ट मागेर बुधबारे आएका थिए ।

मेची राजमार्गको बुधबारे सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ ढुङ्गा बोकेर आउँदै गरेको मे १ त ५८७३ नम्बरको ट्याक्टरबाट उनी हाम फालेका थिए । गुड्दागुड्दै गरेको ट्याक्टरबाट हाम फालेका उनलाई ट्याक्टरको पछाडिको चक्काले किचेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।

ट्याक्टरले किचेर गम्भीर घाइते भएका उनलाई तत्काल बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका लागि ल्याइए पनि उनको अस्पताल ल्याए लगत्तै मृत्यु भएको हो ।