राजनीति

प्रतिनिधिसभाको आजको बैठकमा सांसद पम्फा भुसालले गरिन यस्तो माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद पम्फा भुसालले तराई– मधेश जोड्ने द्रुत मार्ग बनाउँदा ललितपुरको बुङ्मती क्षेत्रमा चक्रपथ बाहिर बनाउन माग गरेका छन् ।

उनले धान रोप्ने समयमा बुङमतीवासी आतंकित भएका तर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद पुष्पा भुसालले संविधान कार्यान्वयन गर्न आवश्यक पर्ने विधेयक ल्याउन सरकारसित माग गर्दै आफ्नो पार्टी सदन छाडेर नबाहिरिने स्पष्ट पारे ।

सांसद अमृता अग्रहरिले तराई– मधेश जिल्लामा धान रोप्ने समयमा मल तथा डिजेलको अभाव रहेका तर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद उमाशंकर अगरियाले धनुषा जिल्लाका नदी नियन्त्रणका लागि बजेट नभएको हुँदा वर्षात् बाढी आउँदा स्थानीय बासिन्दा अहिले बिचल्लीमा परेका छन् भने।

सांसद प्रेम सुवालले नेपाली भूमि सीमा क्षेत्रमा अतिक्रण हुँदा सरकार के गर्दैछ भन्ने प्रश्न गर्दै सीमा क्षेत्रमा बनेका बाँधका कारण नेपाली भूमि वर्षात्का समयमा डुबानमा परेको बताए ।

सांसद हृदयेश त्रिपाठीले संविधानअनुसार राज्य पुनःसंरचना गर्दा संरक्षित र विशेष क्षेत्र घोषणा गर्न माग गरे । सांसद राजेन्द्र केसीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा यसको असर सबैतर्फ परेको बताउँदै सरकारले निषेधित क्षेत्र घोषणा गरी लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाए ।

सांसद महेश्वर गहतराजले तराई–मधेश जिल्लाका नदी नियन्त्रणमा ध्यान दिन माग गरे । सांसद नरबहादुर धामीले महाकाली अञ्चल अस्पतालमा दरबन्दीअनुसार २७ चिकित्सक पठाउन सरकारसित माग गरे ।

सांसद दलबहादुर रानाले पाल्पा जिल्लामा रहेका विद्यालयका भौतिक पूर्वाधारमा ध्यान दिन र शिक्षक दरबन्दी मिलानमा ध्यान दिन आग्रह गरे । सांसद नवराज सिलवालले काठमाडाँै उपत्यकालाई प्रदूषणमुक्त शहर बनाउन सरकारले विशेष कार्ययोजना ल्याउनुपर्छ भने । सांसद दुर्गा पौडेलले प्रा डा गोविन्द केसीका विगतका मागलाई कार्यान्वयन गर्न सरकारले ध्यान दिनुपर्ने माग गरे ।