खेलकुद

विश्वकपः विश्वचर्चित स्टार मेस्सी र रोनाल्डोले एकैदिन हात धोए, चार बर्षपछिको विश्वकप खेल्छन् ?

काठमाडौं । विश्वचर्चित खेलाडी लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो नेतृत्वको क्रमशः अर्जेन्टिना र पोर्चुगल रसियामा जारी २१ औँ चरणको विश्वकपबाट बाहिरिएको छ । शनिबार राती भएका दुइवटा खेलमा फ्रान्ससँग अर्जेन्टिना र उरुग्वेसँग पोर्चुगल हारेको हो ।

यो विश्वकपबाट फुटबलका दुइ महारथिहरु बाहिरिएपछि विश्वभरीका फुटबल समर्थक स्तब्ध बनेका छन् । नक आउट चरणको पहिलो खेलमा फ्रान्ससँग अर्जेन्टिना ४–३ ले हारेको छ भने उरुग्वेसँग पोर्चुगल २–१ गोल अन्तरले पराजित भएको छ ।

मेस्सी र रोनाल्डोले एकैदिन विश्वकपबाट हात धोएपछि उनीहरुले तत्काल आफूहरुले अन्तर्राष्ट्रिय खेलबाट सन्यास नलिने संकेत गरेका छन् । मेस्सीले आफूले विश्वकप नजितेसम्म सन्यास नलिने प्रतिक्रिया दिएका छन् भने उता पोर्चुगिज स्टार रोनाल्डोले पराजय लगत्तै मिडियालाई प्रतिक्रिया दिदैँ आफ्नो भबिष्यबारे कुरा गर्न यो समय सही नभएको प्रतिक्रिया दिएका छन् ।

मेस्सी र रोनाल्डोले पराजय पछि दिएको प्रतिक्रियाबाट सन् २०२२ मा हुने विश्वकप पनि उनीहरुले खेल्नेछन् । अहिले रोनाल्डो ३३ बर्षका भए भने मेस्सी ३२ बर्षका छन् ।