समाचार

भक्ति थापा स्मृति पार्क निर्माण

दाङ । दाङको लमही नगर विकास समितिले उपलब्ध गराएको पाँच कट्ठा जग्गामा भक्ति थापा स्मृति पार्क निर्माण गरिएको छ ।

पार्कमा भक्ति थापाले विगतमा गरेका योगदान र उनका जीवनसँग सम्बन्धित कार्यलाई शिलामा उजागर गरिएको छ । भक्ति थापाको शालिक निर्माण गरी भक्ति थापा स्मृति पार्कभित्र सांकेतिक रुपमा विभिन्न उप पार्क निर्माण गरिएको पुवार थापा क्षेत्री कल्याण समितिका अध्यक्ष निमबहादुर थापाले जानकारी दिए ।

पार्कको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले अंग्रेज फौजसँग बहादुरीपूर्वक लडेर नेपाल र नेपालीको नाम उच्च राख्न सफल वीरभक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरेका छन् ।

वीर सरदार भक्ति थापाले राष्ट्रप्रति गरेको योगदानको मूल्यांकन नभएको भन्दै भक्ति थापाको सम्मानका लागि पनि राष्ट्रिय विभूति घोषणा गर्न आवश्यक रहेको सहभागीको जोड थियो ।

प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले भक्ति थापाको योगदान उच्च रहेको भन्दै स्थानीयस्तरबाट पहल गरी थापाको सम्झनामा पार्क बनाउनु सकारात्मक भएको बताए ।