राजनीति

राजनीतिक क्रान्ती समाप्त, अबको बाटो समृद्धिः मुख्यमन्त्री राई

इटहरी । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनताले ठूलठूला बलिदानी गरेर राजनीतिक क्रान्ति गरिसकेकाले अबको बाटो आर्थिक समृद्धि भएको बताएका छन् ।

मुख्यमन्त्री राईले एक निजी टेलिभिजन एभिन्यूजले शनिबार इटहरीमा आयोजना गरेको स्थापनाको ११ औँ वार्षिकोत्सवका अवसरमा आयोजित बहस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो धारणा राखेका हुन् ।

देशले संविधान निर्माणसँगै नेपाली जनतालाई समृद्धिको मार्गतर्फ अघि बढाउन तीन तहको सरकारको समेत चुनाव सम्पन्न गरी नयाँ नीति बजेट र कार्यक्रम धमाधम ल्याउने कार्य गरेको बताउँदै उहाँले योजना प्रभावकारी बन्न नसक्लाकी भन्ने प्रश्न उब्जनु् स्वभाविक हुनेतर्फ आफूहरु सचेत रहेका छौ भने ।

मुख्यमन्त्री राईले कतिपय सन्दर्भ र विषयमा जनअपेक्षित बजेट व्यवस्थामा ध्यान नपुग्नु प्रभावकारी कार्यक्रममार्फत जनताको घरदैलोमा परिवर्तनको अनुभूति पुग्न नसकेकोतर्फ पनि प्रदेश सरकारले गम्भीर भएर प्रादेशिक बजेट नीतिमा पुनरावलोकन गरिरहेको उल्लेख गरे ।

मुख्यमन्त्री राईले अहिले पहिलो चरणमा नै संघीयताको सफल कार्यान्वयन गर्ने मार्गमा आफैँले नीति योजना एवं ऐननियम बनाएर अघि बढ्ने अवस्थामा रहेकाले जनअपेक्षित सफलता प्राप्तिमा कमी कमजोरी देखिन सक्ने स्पष्ट पारे ।

उक्त बहस कार्यक्रममा अर्थशास्त्री एवं प्रा डा पीके झाले विश्वका विकसित मुलुकले थोरै समयमा ठूला प्रगति र उन्नति हासिल गर्नुको पछाडि विषयवस्तुको पहिचान र स्पष्ट नीतिसँगै कार्यान्वयन पक्षमा इमान्दार बनेर समर्पित बन्नु नै हो भन्नेतर्फ सबैले हेक्का राख्न जरुरी रहेको बताए ।

एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारले टेलिभिजनले ११ औँ वार्षिकोत्सव मनाउँदै गर्दा उच्च दक्षतासहितको जनशक्ति तयार पार्दै यो वर्ष तीन प्र्रदेशमा उच्च प्रविधिसहितको प्रादेशिक प्रसारण केन्द्र सञ्चालनमा ल्याएको बताए ।

सोहीदिन इटहरी उपमहानगरपालिका–३ को विकट स्थानमा रहेको सिद्धार्थ टोल र प्रगति टोलको आन्तरिक पर्यटकीय क्षेत्र खोर्साने खापलाई एकआपसमा जोड्न शेरा खोलामा निर्माण गरिएको झोलुंगे पुलको प्रदेश १ का सांसद एवं नेकपा नेता सर्वध्वज सावाले शनिबार उद्घाटन गरे ।

इटहरी डुबानका अभिसापका रुपमा लिने गरिँदै आएको शेरा खोलामाथि सरकारको जिल्ला प्राविधिक कार्यालयको प्रत्यक्ष निगरानी र लगानीमा रु ७३ लाख ८४ हजारको लागतमा निर्मित उक्त झोलुंगे पुल ९३ मिटर लामो रहेको जिल्ला प्राविधिक कार्यालय सुनसरीका डिभिजनल इञ्जिनियर जीतेन्द्रकुमार कर्णले जानकारी दिए ।