बाग्मती

विभिन्न घटनामा परी तीन जनाको मृत्यु

भक्तपुर । भक्तपुरमा विभिन्न घट्नामा परी आज एकैदिन तीन जनाको मृत्यु भएको छ । महानगरिय प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका–८ जितपुरमा आज रहस्यमय अवस्थामा एक जनाको शव फेला परेको छ ।

जितपुर टावरस्थित दिनेश खड्काको घर डेरा गरी बस्ने राजेन्द्र चौधरीको कोठामा वर्ष ३६ का उमेश कार्की रहस्यमय अवस्थामा शव भेटिएको हो । मृतक कार्कीको हत्या भएको आशंका गर्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरलले बताए ।

प्रहरीले हत्या भएको आशंकामा घटनामा संलग्न रहेका व्यक्तिको खोजी गर्नुका साथै प्रहरीका तालीम प्राप्त कुकुरसमेत ल्याई अनुसन्धान कार्य जारी राखेको प्रहरीको भनाइ छ ।

यसैगरी चाँगुनारायण नगरपालिका–५ का १४ वर्षीय राज चाकातुको विष सेवनका कारण मृत्यु भएको छ । विषादी सेवनबाट अशक्त उनलाई आमा शर्मिलाले भक्तपुर अस्पतालमा उपचारका लागि लगेकामा त्यहाँ उपचार हुन नसकेपछि नागरिक अस्पताल गठ्ठाघर लगेपछि उपचारकै क्रममा मृत्यु भएको पोखरेलले जानकारी दिए ।

मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली मनोहरा सुकुम्बासी बस्तीका एकजना युवाको आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको छ । सुकुम्बासी बस्ती ब्लक नं १ मा बस्ने वर्ष २५ का सुरज दियालीको शव फेला परेको र प्रहरीले थप अनुसन्धान अगाडि बढाएको बताएको छ ।