समाचार

पुनःनिर्माणमा तीव्रता

काठमाडौं । निजी आवारस पुनःनिर्माणमा समयसीमा निर्धारण, स्थानीय तहसँगको सहकार्य र प्राविधिक जनशक्तिलाई स्थानीयस्तरमा खटाउने लगायत नीतिगत व्यवस्थाका कारण निजी आवास पुनःनिर्माणले तीव्रता पाएको छ ।

भूकम्पले घर भत्किई पुनःनिर्माण शुरु भएका निजी घर पाँच लाख नाघेको छ । निजी आवासका लागि अनुदान सम्झौता गरिएका कूल सात लाख २० हजार ७४३ लाभग्राहीमध्ये ६९.४७ प्रतिशतले घर निर्माण शुरु गरेका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा हालसम्म प्राप्त तथ्यांकअनुसार पाँच लाख ७३६ घरको पुनःनिर्माण शुरु भएको छ । एक लाख ९४ हजार ७३१ घरको पुनःनिर्माण सम्पन्न भएकोे प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताए ।

सिन्धुपाल्चोकमा सबैभन्दा धेरै ७३ हजार ४१९ घरको पुनःनिर्माण शुरु भएको छ । नुवाकोटमा ६४ हजार १६१, धादिङमा ५९ हजार ३९८, गोरखामा ५२ हजार ४४८, दोलखामा ५२ हजार २३५, काभ्रेपलाञ्चोकमा ४३ हजार ८०२ र रामेछापमा ३८ हजार ३४२ घरको पुनःनिर्माण शुरु भएको उनले जानकारी दिए ।

अति प्रभावित १४ जिल्लाका अतिरिक्त कम प्रभावित १८ जिल्लामा पनि निजी आवास पुनःनिर्माणले गति लिएको छ । कम प्रभावित जिल्लामध्ये लमजुङमा सबैभन्दा धेरै चार हजार ७४५ घरको पुनःनिर्माण शुरु भएको छ । दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्या पनि बढ्न थालेको छ । चार लाख ५५ हजार ५८१ लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन् भने तेस्रो किस्ताका लागि दुई लाख छ हजार ८९२ लाभग्राहीयोग्य भएका छन् ।

पछिल्लो समय गुनासो सम्बोधनबाट लाभग्राहीको संख्या पनि थपिएको छ । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार अहिलेसम्म छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त विश्लेषणबाट २० हजार ३१० पुनःनिर्माण लाभग्राही थपिएका छन् । त्यसैगरी ११ हजार २९७ प्रबलीकरण लाभग्राही थपिएका छन् । प्राधिकरणकोे कार्यकारी समिति बैठकले नौ जिल्लाका १७ स्थानीय तहका छ हजार २८२ पुनःनिर्माण लाभग्राही र दुई हजार ८५७ परिवारलाई प्रबलीकरण लाभग्राही सूचीमा थप गरेको छ ।

भूकम्प प्रभावित लाभग्राहीले पहिलो किस्ता रु ५० हजार, दोस्रो किस्ता रु एक लाख ५० हजार र तेस्रो किस्ता रु एक लाख पाउँछन् । भूकम्प प्रभावित जिल्लाका सात लाख ८८ हजार १५ परिवार लाभग्राही सूचीमा समावेश छन् । तीमध्ये सात लाख २० हजार ७४३ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । अनुदान सम्झौता गर्नेमध्ये सात लाख १२ हजार १३ लाभग्राहीले पहिलो किस्ता लिएर पुनःनिर्माण शुरु गरेका छन् । दोस्रो किस्ताका लागि चार लाख ५७ हजार ५३६ लाभग्राही प्रमाणीकरण भएका छन् । तेस्रो किस्ताका लागि दुई लाख १२ हजार ७१९ लाभग्राही प्रमाणीकरण भएको प्राधिकरणले जनाएको छ । प्रबलीकरण सूचीमा ३६ हजार २८८ परिवार परेका छन् ।