सूचना प्रविधि

सकारात्मक सन्देश जाने समाचार सम्प्रेषण गर्न आग्रह

इटहरी । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अहिलेको सरकारले यस दशकलाई मुलुकको समृद्धि र निर्माण दशक बनाएर काम गर्ने अठोटका साथ काम गरेको बताएका छन् ।

मन्त्री बाँस्कोटाले शुक्रबार साँझ इटहरीमा सुनसरीका अग्रज सञ्चारकर्मीसँगको सामूहिक भेटघाट कार्यक्रममा सञ्चारकर्मीलाई उच्च मनोबलका साथ सकारात्मक सन्देश जाने समाचार सम्प्रेषणमा जिम्मेवार भएर लाग्न आग्रह गरे ।

सरकारले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्दै विज्ञापनको समानुपातिक वितरण प्रणाली विकासको ठोस नीति बनाउनेतिर सरकार र मन्त्रालय नै प्रतिबद्ध रहेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले सञ्चारको स्वतन्त्रता तथा स्वच्छन्दताको पनि मिहीन ढङ्गले अनुगमन एवं अध्ययन गरिने उद्घोषसमेत गरे । उनले सञ्चारमाध्यम र सञ्चारकर्मीले जिम्मेवार र मर्यादित बन्न जरुरी रहेको बताउँदै सामाजिक सञ्जाललाई पनि छाडा नछाडिनेतर्फ सरकार संवेदनशील छ भने ।

पत्रकारितालाई राज्यको संवेदनशील संयन्त्रका रुपमा बुझेर सञ्चारकर्मीले सत्य, तथ्य र प्रमाणसम्मत तुल्याउन जरुरी हुन्छ भन्दै मन्त्री बाँस्कोटाले मिथ्या ढङ्गले पाठकलाई झट्ट आकर्षित गर्ने हिसाबले उद्दण्ड शब्द प्रयोग गर्ने र विषयवस्तुलाई अनावश्यक उछालेर स्वच्छन्दता प्रस्तुत गर्न खोज्नु जनघाती काम हुने औँल्याए । मन्त्री बाँस्कोटाले अझै देशका धेरै भूभाग प्रविधिको पहुँचभन्दा बाहिर रहेकाले ती क्षेत्रमा प्रविधि विस्तार गर्दै जाने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।

मन्त्री बाँस्कोटाले अबको उद्देश्य भनेकै दुई ठूला छिमेकी मुलुक चीन र भारतसँग सहकार्य गरेर नेपाललाई पूर्वाधारसहितको विकासपथमा अघि बढाउने रहेको बताए।