साहित्य

लीलाध्वज साहित्य सम्मान प्रा डा शर्मालाई

काठमाडौँ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यकार प्रा डा तारानाथ शर्मालाई शुक्रबार ‘लीलाध्वज साहित्य सम्मान’ प्रदान गरेको छ ।

सम्मानका साथ रु २५ हजार र ताम्रपत्र छ । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा लीलाध्वजका सुपुत्र साहित्यकार विजयध्वज थापाले प्रा डा शर्मालाई दोसल्ला ओढाएर नगद हस्तान्तरण गरे ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहप्राध्यापक लेखराज निरौलाले प्रा डा शर्माले छ दशकदेखि नेपाली भाषासाहित्यका क्षेत्रमा क्रियाशील रही विशेषतः समालोचना, निबन्ध र नियात्रा लेखनमा कलम चलाएर नेपाली वाङ्मयको गरिमा अभिवृद्धिका लागि काम गरेको जानकारी दिए।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विजयध्वजको लेखन तथा संकलन ‘स्वाभिमानका प्रतीक लीलाध्वज थापा’ विमोचन गरियो । उक्त पुस्तकको समीक्षा गर्दै डा शैलेन्दुप्रकाश नेपालले विजयले आफ्ना पिताका बारेमा पुस्तक प्रकाशन गरेर ठूलो गुन तिर्नुभएको बताए । प्रा डा शर्माले लीलाध्वज देशभक्त र नारीको हकहित पक्षधर भएको बताए ।