पर्यटन/संस्कृति

काठमाडौँ–वाराणसी–काठमाडौँ भाडादर रु १४ हजार

काठमाडौँ । बुद्ध एयरले शुक्रबारदेखि काठमाडौँ वाराणसी उडान शुरु गरेको छ । यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सोमबार र शुक्रबार गरी साताको दुई उडान भरिने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र प्रबन्ध निर्देशक बस्नेतले काठमाडौँबाट वाराणसी उडानका सम्पूर्ण यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइसमेत गरेका थिए ।
मन्त्री अधिकारीले दुई शहरलाई धार्मिक तथा पर्यटकीय रुपमा जोड्ने तथा उडानले नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने सरकारको तयारीलाई समेत सहयोग मिल्ने बताए ।

नेपालबाट वाराणसी यात्रामा गएका यात्रुलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ स्वागत गरे । बुद्ध एयरले दुवै शहरका लागि विभिन्न धार्मिक तथा पर्यटकीय बिदाका कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ ।

उडानबाट भारतीय तीर्थालु तथा यात्रुका लागि विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणका लागि नेपाल आउने छन् । वाराणसीबाट भारतीय पर्यटक मुख्यगरी पशुपतिनाथ, मुक्तिनाथ र जानकी मन्दिर आउने विश्वास गरिएको छ । युवावर्गलाई लक्ष्य गरी हिमालयज ट्रेल, ट्रेकिङ, जंगल सफारीजस्ता कार्यक्रम पनि सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक बस्नेतले बताए ।

काठमाडौँ– वाराणसी– काठमाडौँको उडान अवधि ५० मिनेटको हुने छ । बुद्ध एयरले अहिले दोहोरो भाडा दर काठमाडौँ–वाराणसी टिकट रु १४ हजार तोकेको छ ।