प्रदेश 1

न्यायालयमा मेलमिलाप नै उत्तम उपाय

विराटनगर । वास्तविक न्याय र दिगो समाधान नै मेलमिलाप भएको शुक्रबार यहाँ आयोजित कार्यक्रममा सरोकारवाला भएकाहरुले बताएका छन् ।

मोरङ जिल्ला अदालतद्वारा आयोजित मेलमिलाप परिषद्को वार्षिक कार्यक्रममा मेलमिलापसम्बन्धी सैद्धान्तिक अवधारणा, नेपालमा मेलमिलापसम्बन्धी कानूनी व्यवस्था र मेलमिलापमा सरोकार भएकाहरुको भूमिकासम्बन्धी गोष्ठीमा सहभागीले मेलमिलापबाट दुवै पक्षको जीत हुने बताए ।

सो अवसरमा उच्च अदालत विराटनगरका न्यायाधीश हरि भण्डारीले झन्झटिलो प्रक्रिया हुने भएकाले विवाद समाधानका लागि अदालत प्रवेश गर्न नचाहनेका लागि मेलमिलाप उत्तम रहेको बताए ।

कार्यक्रममा जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकमार खतिवडा, जिल्ला न्यायाधीशद्वय कमलप्रसाद पोखरेल र नारायणप्रसाद शर्मा तथा जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालले मेलमिलापले समाजमा दिगो शान्ति, अमनकायम हुनाका साथै सकारात्मक प्रभाव पारेको बताए ।

जिल्ला अदालतमा विसं २०६० देखि मेलमिलाप पद्धति लागू भएको हो । आर्थिक वर्ष २०७४÷७५ जेठ मसान्तसम्ममा मेलमिलापमा ८७७ मुद्दा दर्ता भएकामध्ये १३३ सफल र ६७७ असफल भएका थिए । जिल्ला अदालतमा ३१ सूचीकृत मेलमिलापकर्ता रहेकामा सबैभन्दा बढी मुद्दा सफल गराउने मेलमिलापकर्तामा नवराज दुलाल रहेका छन् । नेपाल सरकार वादी रहेको फौजदारी मुद्दाबाहेक अन्य मुद्दा मेलमिलापमा जाने गरेको छ ।