पर्यटन/संस्कृति

फेवातालको सिरपामे फाँटमा १५ औँ असारे रोपाइँ महोत्सव

पोखरा । पोखरा पर्यटन परिषद्ले प्रत्येक वर्षको असार १५ गते गर्दै आएको असारे रोपाइँ महोत्सव यस वर्ष फेवातालको सिर पामेफाँटमा आयोजना गरियो ।

पोखरा लेखनाथ महानगरपालिका–२४ पामेस्थित अशोक पालिखे र कृष्णमोहन पराजुलीको पाँच रोपनी खेतमा यस वर्षको १५ औँ असारे रोपाइँ महोत्सवको आयोजना गरिएको हो ।

खेतीयोग्य जमीनको संरक्षण, कृषिलाई व्यावसायिकीकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्न तथा हाम्रो परम्परागत कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रवर्धन गर्न प्रत्येक वर्ष महोत्सव गर्दै आएको पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले बताए ।

महोत्सवमा साउने प्रतियोगिता (हलगोरुको दौड), विभिन्न आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने खुला प्रतियोगिता, महिला तथा पुरुषको हिले दौड (नेपाली र विदेशी दुवैको छुट्टाछुट्टै), रस्साकसी (नेपाली र विदेशीबीच), पत्रकारको हिले दौड प्रतियोगिताका साथै उत्कृष्ट कृषक सम्मान गरिएको छ ।

प्रतियोगिताअन्तर्गत साउने प्रतियोगिता (हलगोरुको दौड) मा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु तीन हजार, दुई हजार, एक हजार र ५०० नगद पुरस्कारसहित प्रमाणपत्र तथा ट्रफी प्रदान गरियो ।

त्यस्तै असारे रोपाइँ र गीत प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कारसहित प्रमाणपत्र तथा ट्रफी प्रदान गरियो ।

दौड प्रतियोगिताका विजयीलाई भने ट्रफि प्रदान गरिएको थियो । विदेशी पर्यटकको उल्लेखनीय सहभागिता रहेको सो महोत्सवमा लगभग १० हजारभन्दा बढीको उपस्थिति रहेको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।

प्रदेश नं ४ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सो कार्यक्रमको उद्घाटन गर्दै कृषिको आधुनिकीकरणको माध्यमबाट आत्मनिर्भर बन्न सकेमात्र पनि त्यसले अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुग्ने बताए ।

उनले कृषिसँग पर्यटनलाई जोड्दै प्रदेशको समृद्धि र विकासका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेशसभा सदस्य राजीव पहारीले कृषियोग्य जमीन बाँझिने क्रमका साथै खण्डीकरणलाई रोक्नका लागि वैज्ञानिक भू–उपयोग नीतिमार्पmत बाँझिएका जमीनमा खेती गरी राष्ट्रिय उत्पादकत्वमा वृद्धि ल्याउनु अपरिहार्य भएको उल्लेख गरे ।

मानो खाएर मुरी उब्जाउने दिनका रुपमा परम्परा बोकेको असार १५ गते हिलोमा टेक्नै पर्दछ भन्ने मान्यतासहित आयोजित सो कार्यक्रममा स्वदेशी तथा विदेशीबीच सौहार्द र उल्लासमय वातावरणका साथ आपसमा हिलो छ्यापाछ्याप गरेको दृष्यले असार १५ को मौलिकता झल्काएको देखिन्थ्यो ।