समाचार

भीमदतनगरका छाडा चौपायालाई ट्याग लगाइँदै

कञ्चनपुर । भीमदत्त नगरपालिकाले छाडा पशु चौपायाको पुनःस्थापनका लागि घरपालुवा चौपायमा ट्याग लगाउने कार्यलाई तीव्रता दिएको छ । छाडा चौपायालाई गौशालामा पुनःस्थापन गर्न ट्याग लगाउन थालिएको हो ।

उक्त नगरपालिकाले पहिलो चरणमा वडा नं १, ३, ४, ५, ६, ७,८, ९, १० र ११ गरी १० वटा वडाका घरपालुवा चौपायामा ट्याग लगाइसकेको छ । आजदेखि वडा नं १२ देखि १९ सम्मका घरपालुवा चौपायामा ट्याग लगाउने तयारी गरिएको कार्यबाहक नगरप्रमुख सुशीला चन्द सिंहले बताए ।
“केही दिनभित्र गौशालाaमा लगेर छाडा पशु चौपाया स्थापना गरिन्छ” उनले भने, “घरपालुवामा ट्याग लगाउन सकिएपछि सडकमा छाडिएका पशुलाई गौशालामा स्थापन गर्छौ ।”

निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले छाडापशु पुनःस्थापनाका लागि पहिलो नगर सभाबाट रु ५० लाख बजेट विनियोजन गरेका थिए । सो रकमबाट गौशलासहितका पूर्वाधार निर्माण गरिएका छन् ।

भीमदत्त नगरपालिकाका सवइन्जिनियर सन्तोस भण्डारीले एक सय वर्ग मिटरका चार÷चार वटा गौशाला निर्माण गरिएको बताए । बागफाँटमा १७ बिगाहामा छाडा पशु चौपाया पुनःस्थापन गर्न नौ बिगाहा जमिनमा घेरबार गरिएको छ ।
सो स्थानमा सय वर्ग मिटरका चार वटा गौशाला निर्माण गरिएको छ । यसैगरी पशु चौपायालाई पानी खुवाउन बोरिङको व्यगस्थाका साथै चौकीदार बस्ने घर निर्माण गरिएको छ । ती चौपायाका लागि खाली जमिनमा घाँस उत्पादन गरिने भएको छ ।