बाग्मती

आकाशको पानी कुर्दै किसान, एघार प्रतिशतमात्रै रोपाइँ

रत्ननगर, चितवन । राम्ररी वर्षा नहुँदा मध्यअसार लाग्दासमेत चितवनमा पर्याप्त मात्रामा रोपाइँ हुन सकेको छैन । सिँचाइ अभावले जिल्लामा अघिल्लो वर्षभन्दा आधामात्रै रोपाइँ भएको छ ।

जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठले यसवर्ष मौसम सक्रिय नहुँदा जिल्लामा ११ प्रतिशतमात्रै रोपाइँ भएको जानकारी दिए । यतिखेर किसान आकाशको पानी पर्खिएर बसेका छन् ।

अघिल्लो वर्ष असार १५ सम्म २० प्रतिशत रोपाइँ भएको चितवनमा यसवर्ष त्यसको आधामात्रै रोपाइँ भएको हो । किसानले कतिपय ठाउँमा रोपाइँका लागि खेत ठिक्क बनाएर राखे पनि वर्षाको अभावमा धान रोप्न सकिएको छैन् ।

यद्यपि चितवनको पूर्वी भेगमा अलि बढी रोपाइँ भएको छ । पश्चिम र पहाडी भेगमा रोपाइँ हुन सकेको छैन । सो क्षेत्रमा आकाशे पानीको भर पर्नुपर्ने बाध्यताले रोपाइँ हुन नसकिएको हो । कृषि कार्यालयले दिएको जानकारीअनुसार चितवनको इच्छाकामना गाउँपालिकामा रोपाइँ शुरु हुन सकेकै छैन । भरतपुर महानगरपालिकामा जम्मा तीन प्रतिशतमात्रै रोपाइँ भएको छ ।

सबैभन्दा बढी राप्ती नगरपालिकामा ३० प्रतिशत र खैरहनी नगरपालिकामा २५ प्रतिशत रोपाइँ भएको कृषि विकास कार्यालयका प्रमुख श्रेष्ठ बताउँछन् । रत्ननगर नगरपालिकामा १२, माडीमा १० र कालिका नगरपालिकामा तीन प्रतिशत रोपाइँ भएको छ ।

“अहिलेसम्म राम्ररी पानी पर्न सकेन र रोपाइँ भएन, अब मौसम सक्रिए भएको छ असार १५ पछि रोपाइँको क्रम तीव्र हुन्छ”, श्रेष्ठले भने । कतिपय किसान कहिले पानी पर्ला र रोपाइँ गरौँला भनेर बसिरहेका छन् । भरतपुर महानगरपालिका–२० चन्द्रनगरका प्रेम घिमिरे पश्चिम क्षेत्रमा रोपाइँको तरखर नै शुरु नभएको बताउँछन् ।

कतिपय किसानले विगतको अनुभव हेरेर बीउ नै ढिला राखेको उनको भनाइ छ । “पानी परेकै छैन, त्यसैले अन्त पनि रोपाइँ हुने कुरै छैन”, घिमिरेले भने । उनले १० कट्ठा क्षेत्रमा रोपाइँका लागि भर्खरै बीउ राखेका छन् ।

पूर्वी चितवनको शक्तिखोरका टीकाप्रसाद जमरकट्टेल भने धान रोप्ने तरखरमा छन् । उनका अनुसार सो क्षेत्रमा पनि फाट्टफुट्टमात्रै रोपाइँ भएको छ । अब एक दुई दिनभित्रमा भने रोपाइँ शुरु हुने उनले बताए ।

पूर्वी चितवनको भण्डारा र कुमरोजबाहेक अन्य क्षेत्रमा विगत वर्ष जसरी रोपाइँ हुन सकेको छैन । विगतको वर्ष यो समयमा पर्याप्त वर्षा भएकाले पनि धेरै रोपाइँ भएको थियो ।

जिल्लामा यसवर्ष कूल २८ हजार ६०० हेक्टरमा रोपाइँ हुने अनुमान छ । त्यसमध्ये अहिलेसम्म तीन हजार १६३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । कार्यालय प्रमुख श्रेष्ठले वर्षेनी धान रोप्ने क्षेत्र घट्दै गएकोमा चिन्ता व्यक्त गरे ।

उनका अनुसार तीन वर्षअघि चितवनमा २९ हजार ५०० हेक्टरमा रोपाइँ हुन्थ्यो । गएको वर्ष २९ हजार हेक्टरमा रोपाइँ भएको थियो । यो वर्ष भने २८ हजार ६०० हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ । प्रतिहेक्टर ३ दशमलव ५ मेट्रिक टन धान यहाँ उत्पादन हुन्छ ।

कतिपय धान खेत हुने क्षेत्रमा घडेरी र प्लटिङ भएको र कतिपय माछापालनमा समेत प्रयोग भएको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा चैते धान चार हजार ५७५ हेक्टरमा हुने र यसबाट करीब २० हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।

जिल्लाको पूर्वी क्षेत्रमा अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ब्लक छुट्याएर धान उत्पादन गरिँदैछ । किसानलाई धानखेतीमा आकर्षित गराई धान उत्पादन बढाउन उक्त कार्यक्रम आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । तर धानखेती हुने क्षेत्र वर्षेनी घट्दै जानु चिन्ताको विषय बन्दै आएको छ ।

धेरै धान उत्पादन हुने चितवनको कुमरोजमा यसपालिको चैते धान रोगले सखाप पारेपछि यहाँका किसान चिन्तित छन् । राज्यले पनि धान उत्पादन गर्ने किसानलाई राम्ररी प्रोत्साहन गर्न नसकेको किसानको गुनासो छ ।