गण्डकी प्रदेश

धवलागिरिमा “एक घर, एक ओखर” कार्यक्रम

बाबियाचौर, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले “एक विद्यार्थी, एक घर, एक बोट ओखर” कार्यक्रम सञ्चालन गर्ने भएको छ ।आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा समावेश भएको उक्त कार्यक्रम कार्यान्वयनका लागि गाउँसभाबाट रु दश लाख बजेट विनियोजन गरिएको छ ।

विद्यार्थीको स्मरण शक्ति वृद्धि गरी सिर्जनात्मक बनाउने उद्देश्यले सञ्चालन गर्न लागिएको “एक विद्यार्थी, एक घर, एक बोट ओखर” कार्यक्रमले स्थानीयवासीको आयआर्जन, वातावरण संरक्षण र वन विकासमा समेत सहयोग पुग्ने गाउँपालिका अध्यक्ष थमसरा पुनले बताए ।

अघिकांश उच्च पहाडी भागमा अवस्थित गाउँपालिकामा बालबालिकाको वौद्धिक क्षमताको विकासमा उपयोगी मानिएको ओखरखेती प्रवद्र्धन गरी शैक्षिक र आयआर्जनमा सुधार गर्न यस्तो कार्यक्रम ल्याइएको उनले बताए । अध्यक्ष पुनका अनुसार आगामी आर्थिक वर्षमा गाउँपालिकाका सबै घर र विद्यार्थीलाई एउटा दाँते ओखरको बिरुवा वितरण गरिने भएको छ ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित उक्त गाउँपालिकाले सडक विस्तार तथा स्तरोन्नति र केन्द्रीय प्रशारण लाइन विस्तारमा प्राथमिकता दिएर आगामी आर्थिक वर्षका लागि रु ३२ करोड २६ लाख ६९ हजार ८२५ बजेट विनियोजन गरेको छ ।

निर्माणाधिन मुनामुदी सडकलाई रु ८० लाख, ताकम विद्युतीकरणका लागि रु ९० लाख, लुलाङ दरखोला दोस्रो लघुजलविद्युत् परियोजनालाई रु ५० लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष रेशम छन्त्यालले बताए ।
विद्यार्थी भर्ना दर उच्च राख्न तथा विद्यालय छाड्ने दर न्यून राख्न ५ नं वडा मल्कवाङ र ताकममा विद्यार्थी छात्रवृत्ति कार्यक्रमका लागि रु पाँच लाख बजेट विनियोजन भएको छ । अन्य पाँचवटा वडामा गुँड नेवर्स इन्टरनेशनलले म्याग्दी सामुदायिक विकास परियोजनामार्फत यस्तै प्रकृतिका कार्यक्रम सञ्चालन गरेको छ ।

शून्य दरबन्दीमा सञ्चालित समस्याग्रस्त सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलबका लागि रु १८ लाख ५० विनियोजन गरेको गाउँपालिकाले नमूना विद्यालय कार्यक्रमका लागि रु १५ लाख छुट्ट्याएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

गाउँपालिकाबाट एसइई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने एक छात्र र एक छात्रालाई जनही रु पाँच हजारसहितको ‘अध्यक्ष–उपाध्यक्ष छात्रवृत्ति’ प्रदान गरिने भएको छ ।