पर्यटन/संस्कृति

आलिताल संरक्षणका लागि पहल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण आलितालको पर्यटन प्रवद्र्धनका लागि आलिताल गाउँपालिकाले पहल शुरु गरेको छ ।

आलिताल गाउँपालिका–३ मा पर्ने आलितालको संरक्षणका लागि स्थानीय सरकार जुटेको हो । गाउँपालिकाको नामकरण नै यही तालको नामबाट भएको आलितालमा पर्यटक भित्र्याउने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेश संरक्षण समिति र आलिताल गाउँपालिकाले भौतिक पूर्वाधार विकासको पहल गरिरहेका छन् ।

आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङका अनुसार चालू आर्थिक वर्षमा सडक निर्माणका लागि रु ३५ लाख विनियोजन गरिएको छ । गाउँपालिकाको केन्द्रदेखि तालसम्म जोड्ने पर्यटकीय सडकलाई वडा नं ३ को केन्द्रबिन्दु चौडसम्म पु¥याउने काम भइरहेको छ ।

गाउँपालिकाका प्राविधिक राजबहादुर शाहका अनुसार गाउँपालिकाको समन्वयमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिमार्फत वनभोजस्थल, प्रतीक्षालय र ताल वरिपरि पैदल मार्ग निर्माण उपभोक्ता समितिमार्फत भइरहेको छ । आलितालमा पर्यटन प्रवद्र्धनका लागि रु ६१ लाख बजेट विनियोजन गरिएको छ ।

तालको अवलोकन गर्न आउने पर्यटकका लागि चारवटा डुंगा निर्माण गरिरहेको उपभोक्ता समितिका अध्यक्ष हरिलाल थापाले बताए । गाउँपालिकाले अन्य सम्भावित पर्यटकीयस्थलको विस्तृत वृत्तचित्र र ब्रोसर तयार गरी प्रचारप्रसार थालेको छ ।

महाभारत पर्वत शृङ्खलाको फेदमा सो ताल अवस्थित छ । धार्मिक महत्व बोकेको आलितालको लम्बाइ एक हजार १७५ मिटर तथा चौडाइ करीब ४०० मिटर रहेको छ । तालको गहिराई हालसम्म मापन गर्न सकिएको छैन । महाभारतको चुरे क्षेत्रबाट विभिन्न फोहर पदार्थ तालमा जम्मा हुँदै गएको छ । यही कारण ताल दिन प्रतिदिन साँघुरिँदै गएको छ ।

तालको वरिपरि बिरुवा उम्रिनुका साथै फोहर थुप्रिँदै गएको छ । सुन्दर र रमणीय आलिताललाई चुरेका डाँडाकाँडाले घेरेको छ । तालको वरिपरि सुन्दर हरियाली वनले ढाकेको छ । सदरमुकामबाट सो तालसम्म पुग्न गाडीमा करीब तीन घण्टा लाग्छ ।

“खेतको आलीमा ताल भएकाले यसको नाम आलिताल रहन गएको हो,” गाउँपालिकाका अध्यक्ष गुरुङले भने । आलिताल आसपासमा रहेका मगर बस्तीमा ‘होमस्टे’ (घरबास) को पहल भइरहेको छ । गाउँपालिकाभित्र रहेका सबै पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न योजना अघि बढाइएको छ ।