लुम्बिनी

अनुसन्धान तथा अभियोजनसम्बन्धी प्रदेशस्तरीय सम्मेलन शुरु

नेपालगञ्ज । प्रभावकारी अनुसन्धान तथा अभियोजनसम्बन्धी दुईदिने प्रदेशस्तरीय सम्मेलन आजबाट बाँकेको कोहलपुरमा शुरु भएको छ ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले आयोजना गरेको सो सम्मेलनमा प्रदेश नं ५ र ७ तथा कर्णाली प्रदेशका नेपाल प्रहरीका अनुसन्धानकर्ता, सरकारी वकिल र चिकित्सक तथा विधिविज्ञान विज्ञ गरी ७६ जनाको सहभागिता छ ।

विसं २०७५ भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनलगायत नयाँ फौजदारी कानून कार्यान्वयन गर्ने सन्दर्भमा आयोजित सो सम्मेलनको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरे ।

सो अवसरमा उहाँले कानून बुझेर गर्ने अनुसन्धान र अभियोजन सधैँ प्रभावकारी हुने बताउँदै प्रहरी, सरकारी वकिल र न्यायालयको काम फरकफरक भए पनि सबैको साझा जिम्मेवारी भनेको कानूनको सफल कार्यान्वयन र अपराधीलाई दण्ड सजाय दिलाउनु नै हो भने ।

प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातले सम्मेनलमा तीनवटा कार्यपत्र प्रस्तुत हुने र छलफलमा उठेका विषयहरु समावेश गरी साझा धारणासहितको प्रस्तावहरु पारित गरिने जानकारी दिए ।

सहमहान्यायाधिवक्ता विश्वराज कोइरालाको अध्यक्षतामा सम्पन्न भएको सो समारोहमा न्यायाधीश टेकप्रसाद खनाल र कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केशवराज आचार्यले नागरिकको न्याय सेवामा सहज पहुँच अभिवृद्धिका लागि प्रहरी, सरकारी वकिल र न्यायालयबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।