पु.समाचार

जमीन बाँझो नराख्ने गरी भू–उपयोग नीति ल्याउने

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले खेतीयोग्य जमीन बाँझो नराख्न र त्यस्तो जग्गामा बस्ती बसाउन नमिल्ने गरी सरकारले भू–उपयोग नीति ल्याउने बताएका छन् ।

युवासंघ नेपाल र योङ कम्युनिष्ट लिगको आयोजनामा आजदेखि शुरु भएको तीनदिने श्रमदानमा युवा कार्यक्रमअन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं १ तौलुङस्थित खेतमा धान रोपाइँ महोत्सवको उद्घाटन गर्दै उनले खेतीयोग्य जमीनमा खेती गरेर मुलुकको कृषि उत्पादनलाई वृद्धि गर्नुपर्ने र त्यस्तो जमीनमा प्लटिङ गर्न र बस्ती बसाउन नपाइने गरी नीति ल्याउने बताए ।

मन्त्री पोखरेलले जनतासँग नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकार सधैँ एकाकार हुने उल्लेख गर्दै युवाको उक्त अभियानले मुलुकभर कहाँ कति श्रमदान ग¥यो भन्ने विवरण सार्वजनिक गर्नुपर्ने कुरामा जोड दिए ।

युवासंघ नेपालका अध्यक्ष रमेश पौडेलले आफूहरुले सो अवधिमा मुलुकका करीब ७०० स्थानमा धान रोपाइँका लागि श्रमदान गर्ने जानकारी दिए ।