सुदूरपश्चिम

अविरल वर्षाका कारण हिजो राति पहिरो जाँदा राजमार्ग अवरुद्ध

बाजुरा । साँफे–मार्तडी सडक खण्डअन्र्तगत बाजुराको बडीमालिका नगरपालिका–९ को सेलाघाटमा अविरल वर्षाका कारण हिजो राति पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको छ ।

वर्षाले आएको पहिरोले पुरै सडक पुरेपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिएका छन् ।

उहाँले बाटो खुलाउनका लागि सडक निर्माण गरिरहेको पीएस कम्पनीलाई जेसीबी पठाएर तत्काल पहिरो पन्छाउन आग्रह गरिएको बताए । यसैगरी बुढीगंगा नगरपालिकामा रहेको साँफे–मार्तडी सडकसँग जोडिएको गुईगाड खोला आएपछि यातायात बन्द भएका छन् ।

खोलाको पुल निर्माण भएपछि वर्षायाममा खोलाबाट यातायातका साधन सञ्चालन हुँदै आए पनि वर्षाका कारण सवारी साधन चल्न नसकेको प्रहरीको भनाई छ । वर्षाले सडक अवरुद्ध हुँदा आवतजात गर्ने यात्रुले सास्ती भौग्दै आएका छन् । सडक खोल्नका लागि प्रयास भइरहेको प्रहरी प्रमुख बोहराले बताए।

जीप दुर्घटना  मृत्यु हुनेको संख्या तीन पुग्यो

बाजुराको त्रिवेणी नगरपालिका–४पिपलसैनमा बुधबार राति भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परी सोही नगरपालिका–१ का वडा अध्यक्ष र स्थानीय महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए ।

घाइतेमध्ये पाँच जना अछामको बयालपाटा अस्पतालबाट सामान्य उपचार पछि घर फर्काइएको हो भने पाँच जना गम्भीर घाइते भएकालाई बयालपाटामा उपचार सम्भव नभएपछि नेपालगञ्जको भेरी अस्पतालमा रिफर गरिएको थियो ।

पाँच जना घाइतेको थप उपचारका लागि नेपालगञ्ज पठाएका पाँच जना गम्भीर घाइतेमध्ये त्रिवेणी नगरपालिका–१ का स्थानीय रिनार नेपालीको नेपालगञ्जमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पताललाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।