समाचार

वनबासा पुल दिनभर सञ्चालन गराउन मन्त्री यादबको पहल

भीमदत्तनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले उद्योग सञ्चालनमा जोड दिन उद्योग/व्यवसायीलाई आग्रह गरेका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य संघको २९ औँ वार्षिक साधारणसभालाई आजसम्बाधोन गर्दै उनले उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाउन आग्रह गरे । मन्त्री यादवले भने, “अब उत्पादनलाई जोड दिनुपर्ने बेला आएको छ ।”

सरकार हरेक प्रदेशमा उद्योग स्थापना गर्न अघि बढिरेहको बताउँदै उनले पर्याप्त उद्योग सञ्चालनमा आए मात्रै युवाले स्वदेशमै रोजगारी पाउने धारणा राखे । मन्त्री यादवले भने, “सरकारले उत्पादन, कृषि र उद्योगलगायतलाई प्राथमिकतामा राखेको छ ।”

उनले महाकाली नदीमा रहेको शारदा ब्यारेज (बनबासा पुल) दिनभर सञ्चालन गराउने विषयमा प्रधामनमन्त्री र भारतीय पक्षसँग छलफल गर्ने वचन दिए ।

कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले वेदकोट नगरपालिकामा स्थापना हुने प्रदेश नं ७ को दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम, महाकाली नदीमा चार लेनको पुल निर्माण नहुन्जेल शारदा ब्यारेज (बनबासा पुल) मा १२ घण्टा सञ्चालनको पहल, गड्डाचौकीमा अध्यागमन कार्यालय स्थापना हुनुपर्नेलगायत माग गरे ।

त्यसका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सहजताका लागि मझगाउँ विमानस्थल सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो

प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्र निरीक्षण
उद्योगमन्त्री यादवले बिहिबार नै महाकाली नगरपालिका–७ स्थित प्रस्तावित सुक्खा बन्दरगाह कञ्चनभोज क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

सो अवसरमा मन्त्री यादवले स्थानीयवासीलाई जनताको हित हुने गरी सुक्खा बन्दरगाह निर्माण हुनेमा ढुक्क हुन आग्रह गरे । केही समययता कञ्चनभोजमा सुक्खा बन्दरगाह निर्माण भए आफूहरु विस्थापित हुनुपर्ने स्थानीयवासीको बुझाइ छ । सोही बुझाइका कारण केही समययता नेपाल–भारत संयुक्त सर्वे टोलीमाथि त्यहाँ आक्रमण भएको थियो ।

पहिलो पटक मन्त्री यादव त्यहाँ पुग्दा स्थानीयवासीले संघर्ष समितिमार्फत विकासका नाउँमा विस्थापित नगर्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन् ।

सो क्रममा मन्त्री यादवले प्रदेश नं ७ को महाकाली नगरपालिकामा बन्ने सुक्खा बन्दरगाह अध्ययनका क्रममा रहेको बताउँदै भने,“तपार्इंहरु ढुक्क हुनुस् सरकार तपाईंलाई विस्थापित गरी विकास ल्याउँदैन । सुक्खाबन्दरगाहका क्रममा केही परिवारलाईसार्नुपरे पनि उचित व्यवस्थापन हुन्छ ।”

कञ्चनभोज पुग्नुअघि मन्त्री यादवले सुक्खाबन्दरगाहका लागि सम्भावित महाकाली नगरपालिका–१ स्थित गौरीशंकर सामुदायिक वन क्षेत्रको समेत निरीक्षण गरेका थिए । प्रतिनिधिसभा सदस्य लेखराज भट्ट र डा दीपकप्रकाश भट्ट, प्रदेश नं ७ का प्रदेशसभा सदस्य मानबहादुर सुनार, प्रकाशबहादुर रावल र लालबहादुर खड्कासहितको टोली कञ्चनभोज पुगेको थियो ।

सो क्रममा सुक्खा बन्दरगाह निर्माण भए विस्थापित हुने त्रासमा रहेका स्थानीयवासीले सुक्खा बन्दरगाह बनाउँदा बस्ती विस्थापन कुनै हालतमा नहुने गरी काम अघि बढाउन सुझाव दिएका छन् । सुक्खा बन्दरगाह पीडित संघर्ष समितिका अध्यक्ष विनय सुनारले आफूहरु २०२२ सालदेखि अभाव, गरीबी र संघर्षका बीच नेपाल–भारत सीमाक्षेत्रको बस्तीमा बसिरहेको बताउँदै भने, “हामीलाई विस्थापन नगरी विकास होस् भन्ने मात्रै हाम्रो माग हो ।”
कार्यक्रममा पूर्ववाणिज्यमन्त्री लेखराज भट्टले सुक्खा बन्दरगाह बने स्थानीय बस्तीमा विकासको लहर आउने बताए ।