पु.समाचार

मदन भण्डारीको जन्मजयन्तीमा फलफूल रोपियो

रत्ननगर, चितवन । प्रदेश नं ३का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले हरेक सामुदायिक वनमा इको ¬टुरिजम पार्कको विकास गर्नुपर्ने बताएका छन् ।

स्व मदन भण्डारीको ६७औँ जन्मजयन्तीका अवसरमा विहीबार मदन भण्डारी फाउण्डेशन चितवनद्वारा कालिका नगरपालिकास्थित पदमपुरको थाङ्खोला सामुदायिक वनमा फलफूलका बिरुवा रोप्ने कार्यक्रममा उनले प्रदेश सरकारले यसका लागि कार्यक्रम अघि बढाएको उल्लेख गरे ।

शुरुमा चितवनका चार वटा सामुदायिक वनबाट पार्क निर्माण गर्ने योजना रहेकाले त्यसका लागि वन र पर्यटन मन्त्रालयमा प्रस्ताव गर्न लागिएको उनले जानकारी दिए ।
मदन भण्डारी फाउण्डेशन नेपाल चितवनका अध्यक्ष डा तीलचन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं ३ का सांसद घनश्याम दाहालले सामुदायिक वनलाई उत्पादनमूलक काममा सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा फाउण्डेशनका संस्थापक अध्यक्ष जेएन थपलिया, सल्लाहकार देवी ज्ञवाली, थाङ्खोला वनका अध्यक्ष जयलाल कँडेललगायतले वन संरक्षणसँगै आयआर्जनमा समेत सामुदायिक वनलाई प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

सो कार्यक्रममा २०० भन्दा बढी कागती र एभोकाडोका बिरुवा रोपिएको थियो । सो क्षेत्रमा फलफूलको बगैँचा बनाइने फाउण्डेशनले जनाएको छ ।