समाचार

सडक पेटीको पसलमाथि महानगरको कडा नजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटीमा पसल राख्नेहरुमाथि निगरानी बढाएको छ । महानगरपालिकाले जेठको पहिलो सातादेखि हालसम्म सडक पेटीमा पसल राख्ने करीब ५५० जनाको सामग्री जफत गरिसकेको छ । जफत गरिएका ती सबै सामग्री लिलाम प्रक्रिया लगिने छ ।

कोटेश्वर, चावहिल, रत्नपार्क, कालीमाटी, बल्खु, स्वयम्भू कलङ्कीलगायतका स्थानबाट ती सामग्री जफत गरिएको हो ।

बिहान बेलुका राखिने यस्ता पसलले पैदलयात्रीलाई आवतजावत गर्न समस्या परेकाले कामपाले योे अभियान शुरु गरेको हो । यसले निरन्तरता पाउने पनि कामपाले जनाएको छ ।

गत जेठको पहिलो साता कामपाले सडक छेउमा विभिन्न किसिमका सामग्री राखी बिक्री वितरण नगर्न सम्बन्धमा सूचना सार्वजनिक गरिएको थियो । उक्त सूचनालाई व्यापारीले अटेर गरेपछि यस्तो अभियान शुरु गरेको कामपा नगर प्रहरी महाशाखाका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए ।

गत जेठ ६ गतेदेखि थालनी गरेको सो अभियानअन्तर्गत २७८ जनालाई सामानसहित पक्राउ गरिएको थियो । तीमध्ये १७८ जनाको सामान दर्ता गरिएका छन् । बाँकी सय जनाले सामान दाबी गर्न नआएका कारण दर्ता गर्न सकिएको छैन् ।

यसैगरी, अभियानका क्रममा करीब ७० जनाबाट तत्काल बिग्रिने, सड्ने, गल्ने सामान जफत गरिएकाले उनीहरुलाई कारवाही गरेर छोडिएका छन् ।