साहित्य

पाँच हाइकु पुस्तक विमोचित

ललितपुर । पाँच हाइकु पुस्तक आज एकसाथ विमोचन भएको छ । नेपाल हाइकु केन्द्रले आज यहाँ आयोजना गरेको ‘बृहत् हाइकु पुस्तक विमोचन’ कार्यक्रममा आरडी प्रभाष चटौतद्वारा लिखित नेपाली भाषाको ‘चटनी’, हिन्दी भाषाको ‘मधुशाला’ र डोट्याली भाषाको ‘हिङालो’, मुकुन्द पथिकको ‘पथिकका हाइकुहरु’ तथा किशोरबज्र बज्राचार्यका ‘बज्र हाइकु’ को विमोचन गरियो ।

सो अवसरमा चलचित्रकर्मी नीर शाहले हरेक मानिसको देखाइ, हेराइ र सुनाइमा साहित्य रहने बताउँदै सो कुरा बुझ्न सक्दा मात्रै साहित्यको सान्दर्भिकता रहन्छ भने ।

केन्द्रका अध्यक्ष प्रा रामकुमार पाँडेले सिर्जना गर्ने व्यक्तिले रचना परिष्कृत गर्दै जानुपर्ने बताउँदै हाइकुको संरचना र मर्म बुझेर विम्बको प्रयोग गर्दै लेख्न आग्रह गरे । विमोचित हाइकुका समीक्षा गर्दै केन्द्रका उपाध्यक्ष मित्रबन्धु पौडेलले विम्बको प्रयोग गरेर लेखनलाई अझ परिष्कृत गराउन सर्जकलाई अनुरोध गरे । साहित्यकार बमबहादुर जितालीले संख्यात्मकभन्दा पनि गुणात्मक सिर्जनामा जोड दिए ।