विचित्र संसार

सर्पले टोकेपछि रिसमा सर्पलाई नै टोकेर मारिदिए यी युवकले

काठमाडौं । नेपालीमा उखान छ ‘कुकुरले खुट्टा टोक्यो भने कुकुरको खुट्टा टोक्नु हुन्न ।’ तर, एक युवकले सर्पले टोकेको रिसमा सर्पलाई नै टोकेर मारिदिएका छन् । युवक र सर्प दुवैको मृत्यु भएको छ । भारतको लखनउमा यस्तो आश्चर्यजनक घटना भएको हो ।

लखनउको इन्दिरानगरमा ती युवकलाई सर्पले टोकेपछि ती युवकले सर्पलाई नै समातेर उनको टाउको चपाएका हुन् । यहाँका २४ वर्षका शिवम् याण्डे नामका युवकले यस्तो गरेका हुन् । शिवम्का पिता अवकाशप्राप्त बैंक म्यानेजर र आमा गृहिणी भएको बताइएको छ । उनी आमाबाबुका एक्ला छोरा थिए । बिहीबार बिहान सर्प र शिवम्को लाश यहाँको साई वाटिका मार्केट नजिकै भेटिएको थियो ।

स्थानीयका अनुसार शिवम् नशाको लत लागिसकेका व्यक्ति थिए । बुधबार साँझ पनि उनले धेरै नै मदिरा पिएर घुम्दै मार्केटतिर गएका थिए । मार्केटको सिसिटिभी फुटेजमा उनी पहिले सर्पसँग खेलेको र पछि त्यहीँ ढलेको देखिएको छ । प्रहरीले उनको शवलाई पोष्टमार्टमको लागि पठाएको छ । पोष्टमार्टमपछि विस्तृत विवरण थाहा हुने प्रहरीले जनाएको छ । -एजेन्सी