समाचार

गृहमन्त्रीले गोविन्द केसीलाई भने अधिनायकवादी, केसी अनसन बस्न जुम्लातिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले प्राध्यापक डाक्टर गोविन्द केसीलाइ व्यङ्ग्यात्मक शैलीमा जवाफ फर्काएका छन् । केही दिन अगाडी डा. केसीले सरकारले जनताको स्वतन्त्रताको अधिकारमा हस्तक्षेप गरेको आरोप लगाएका थिए र सरकारलाइ अधिनायकवादको संज्ञा दिएका थिए ।

त्यसको प्रतिउत्तरमा बिहिबार गृहमन्त्री थापाले केसीलाइ अधिनायकवादी भएको बताउदैँ भने, ‘अधिनायकवादको अर्थ के हो त भन्दाखेरि मलाई त्यही केटी चाहिन्छ भन्ने पनि हो ! हजारौं ठाउँहरु खुल्ला छन, अन्त विरोध प्रदर्शन गर्न नचाहने, त्यही ठाउँमा मात्रै गर्न चाहने भन्ने कुरो अधिनायकवाद हो ।’

गृहमन्त्री थापाले गोविन्द केसीका माग जनताका पक्षमा नभएको तर्क गर्दै सरकारले त्यस्ता माग पूरा गर्नै नसक्ने टिप्पणी गरेका छन् । माइतीघर मण्डलामा प्रदर्शन गर्न कुनै पनि हालतमा नदिने बताउदैँ उनले भने, ‘माइतीघर मण्डलाजस्तो ठाउँमा विरोध प्रदर्शन गर्न दिने हो भने त त्यहाँ पुरै यातायात जाम हुन्छ । यातायात जाम भयो भने अन्य नागरिकहरुको अधिकार अतिक्रमण हुन सक्छ । त्यसैले यो कुरा नागरिकहरुको अधिकारसँग जोडिएको कुरा हो । सुरक्षासित जोडिएको प्रश्न पनि हो ।’

यसैबीच पत्रकार सम्मेलनमा प्रदर्शनका लागि काठमाडौँका ७ स्थान, ललितपुरका ६ स्थान र भक्तपुरको १ स्थान प्रदर्शनका लागि तोकिएको जानकारी दिईएको छ ।

यता गोविन्द केसी भने अनसनका लागि जुम्लातिर लागेका छन् । डा. केसीले बिहिबार साझँ जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर भोलीपल्टै बाट अनसन थाल्ने बताएका छन् ।

‘संसदले विधेयक नै पारित नगर्ने तयारी गरेको बुझिएकाले अनशन बस्न लागेको हुँ’, केसीले भने, ‘प्रचण्ड ओलीजीहरुले आफ्नो व्यापारिक स्वार्थको लागि दुई तिहाई बहुमतको सरकारको शक्ति देखाएर अध्यादेश फेरबदल गर्न लाग्नु भयो । हामीसँगको सम्झौता, प्रतिबद्धता केही पुरा भएन ।’