समाचार

देशैभर फैलिएको मनसुन बारे महाशाखाबाट आयो यस्तो खबर

काठमाडौँ । यस वर्षको मनसुन देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले एक विज्ञप्ति जारी गर्दै मनसुनको प्रभावले तीन दिनसम्म देशका धेरै स्थानहरुमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । देशका पूर्वी र मध्यका केही स्थानमा सक्रिय भएको मनसुन बुधबारदेखि मध्य हुँदै पश्चिमतर्फ फैलिएको मौसमविद् सुवास रिमालले जानकारी दिए ।

उनका अनुसार क्रमिक रुपमा मनसुनी वर्षाको गतिविधि बढ्नेछ । आज पनि देशका अधिकांश भेगमा बदली र केही स्थानमा वर्षा भएको छ । आज साँझ र रातितिर काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।

महाशाखाले यस वर्ष जेठ २५ (जुन ८) देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश भएको घोषणा गरेको थियो । मनसुन घोषणा भएको लामो समय बितिसक्दा पनि पूर्ण रुपमा सक्रिय हुन नसक्दा पर्याप्त वर्षा हुन सकेको थिएन ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी डडेल्धुरामा १८, दाङमा १२, विराटनगरमा ११ मिलिमिटर वर्षा भएको छ । काठमाडौँको भने वर्षा रेकर्ड गरिएको छैन । आज काठमाडौँको अधिकतम तापक्रम ३० र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ ।