बाग्मती

काष्ठमण्डप पुनःनिर्माणका लागि माटो र इँटा परीक्षण

काठमाडौँ । काष्ठमण्डप पुनःनिर्माणका लागि प्रयोग हुने माटो र इँटाको गुणस्तर परीक्षण गर्न सरकारले परीक्षण केन्द्रमा पठाएको छ । आगामी भदौबाट शुरु गरिने पुनः निर्माणमा प्रयोग हुने इँटा र माटो परीक्षणका लागि परीक्षण केन्द्रमा पठाउनाका साथै निर्माणका लागि आवश्यक पर्ने काठ जम्मा गर्ने काम भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले राससलाई जानकारी दिए ।

उनका अनुसार विसं २०७२ को भूकम्पले पूर्णरुपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमा पूजा पनि भइसकेको छ । क्षमा पूजा कुनै कार्य शुरु गर्नुपूर्व गरिने र निर्माणको अवधिभरि कुनै किसिमको समस्या नआओस् भनेर गरिने पूजा हो ।

परीक्षणमा पठाइएको माटो र इँटाको गुणस्तर मापनबाट आएको नतिजाअनुसार सामग्री सङ्कलन गरी पुनः निर्माण शुरु गरिने शाक्यले जानकारी दिए । अबको २० दिनमा परीक्षणको नतिजा आउने बताइएको छ ।

बाह्रौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले निर्माण गराएको र बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिइ एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको र त्यसैबाट मूर्तिविहीन मरुसतः बनाइएको र पछि यसैलाई काष्ठमण्डपको रुपमा चिनन थालोको हो । मरुसतःमा गोरखनाथ र अन्य मूर्ति थपिएको थियो । केही वर्षअघि बेलायतको दुर्हाम विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको खोज अनुसार यो सातौँ शताब्दीको भएको इतिहासकारले बताएका छन् ।

चार वर्षभित्र निर्माण कार्य सक्नेगरी सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको तयारी भएको छ । नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ ।