सुदूरपश्चिम

पाँचजना घाइतेलाई नेपालगञ्ज पठाइयो

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–४ पिपलसैनमा बुधबार राति ७ः४५ मा भएको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचजनालाई बयालपाटा लगिएकोमा त्यहाँको अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ ।

दुर्घटनामा परी घटनास्थलमा नै सोही नगरपालिकाका वडाध्यक्षसहित दुईजनाको मृत्यु भइसकेको छ । बूढीगंगा नगरपालिकाको बाम्का बजारबाट छतारा जाँदै गरेको से १ ज ९९९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । जिप सडकबाट करीब ५०० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका त्रिवेणी नगरपालिका–३ बस्ने वीरबहादुर शाही र टेकेन्द्र शाही, १ नं वडाका घनश्याम बूढा र रिनारी नेपाली र जिप चालक चन्द्रमणि मोहनीको अवस्था नाजुक भएकाले थप उपचार गर्न नेपालगञ्ज रिफर गरिएको अस्पतालले बताएको छ ।

उनीहरुको टाउको, ढाड र छातीमा चोट बढी लागेकाले बयालपाटा अस्पतालमा उपचार सम्भव नभएपछि रिफर गरिएको बताइएको छ । दुर्घटनामा घाइते भएका पाँचजनालाई सामान्य उपचारपछि घर फर्काइएको अस्पतालले जनाएको छ । गम्भीर घाइतेमध्ये पाँचजना नै खतरामा रहेको अस्पतालको भनाइ रहेको छ ।

जिपमा चालकसहित सातजना सवार रहेका थिए । घाइतेलाई उपचारका लागि बयालपाटा अस्पताल, अछाम लगिएको थियो । घटनाको जानकारी लिन प्रहरी नायब उपरीक्षक सागर बोहरासहितको टोली पुगी दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।

दुर्घटनामा मृत्यु भएका वडाध्यक्ष खम्म नेपाली र लालसरा बूढाको शव परीक्षणका लागि सदरमुकाम मार्तडीमा ल्याइने भएको प्रहरी नायब उपरीक्षक बोहराले बताए । चिप्लो र उकालो सडक भएकाले जिप पछाडि चिप्लिएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।