पर्यटन/संस्कृति

प्रशिद्ध पर्यटकीयस्थल तिम्बुङ पोखरी जाने सिजन शुरु

पाँचथर । पूर्वको प्रशिद्ध पर्यटकीयस्थल तिम्बुङ पोखरी जाने मौसम शुरु भएको छ । पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको संगममा रहेको तिम्बुङ यात्राको सिजन असारको शुरुदेखि आरम्भ भएर साउन महिनाभरि चल्छ ।

भदौ लागेपछि भने जाडो बढ्न थाल्छ । चौँरी गोठाला चौँरी लिएर बेँशीतिर झर्छन् । त्यसैले साउनपछि तिम्बुङ यात्रा सम्भव छैन । मनसुनी मौसममा पर्यटक र तीर्थयात्रीको भीड लाग्ने तिम्बुङ दृष्यावलोकन र तीर्थयात्राको लागि अब्बल गन्तव्य मानिन्छ । तिम्बुङ क्षेत्रमा यो सिजनभरि धार्मिक एवं जैविक–प्राकृतिक सौन्दर्यसँग रमाउने पर्यटकको लर्को लाग्छ ।

तिम्बुङ क्षेत्रमा पाइने केन्जो फूल

समुद्री सतहदेखि ४,४८० मिटरको उचाइमा रहेको तिम्बुङ पोखरीको अनुपम सौन्दर्यले मन फुरुंग हुन्छ । चट्टाने पहाडबीचमा रहेको पोखरी आश्चर्यलाग्दो छ । पोखरी दर्शनको क्रममा देखिने बादल र घामको लुकामारी पहिलोपल्ट तिम्बुङ पुग्नेका लागि रोमाञ्चक लाग्छ भने फर्किसकेपछि मीठो सम्झना बन्छ । करीब ४०० मिटर लम्बाइ र २०० मिटर चौडाइ रहेको स्वच्छ–निर्मल पानीले भरिएको पोखरी हेरेर कहिल्यै धित मर्दैन ।

हिमालको काखमा रहेको सुन्दर पोखरी, विभिन्न प्रजातिका लेकाली जडीबुटी र फूलको बास्ना, लेकाली वन्यजन्तु र पक्षीका सुमधुर आवाज, कतै फराकिला नागी चउर त कतै आङ नै जिरिङ्ग हुने चट्टाने पहरा, छुट्टै दुनियाँ जस्तो लाग्ने चौरी गोठालेको जिन्दगी तिम्बुङ यात्राका मुख्य सौन्दर्य हुन् । यहाँ पदमचाल, केन्जो, माइकोपिला, पाँचऔंले, बिख्मा, कुटी, खोकिम जस्ता फूल र जडीबुटी पाइन्छ ।

तिम्बुङ पुगेर दर्शन गरे पुण्य प्राप्ति हुने र मनोकामना पूरा हुने जनविश्वास छ । तिम्बुङ आसपासमा अन्य ससाना पोखरी र कुम्भकर्ण हिमाल आसपासमा १७८ कुण्ड रहेको जानकार बताउँछन् । तिम्बुङ क्षेत्रबाट हिँड्न सक्दा दुई दिनमा कञ्जनजंघा आधार शिविर पुग्न सकिने त्यहाँका चौँरी गोठाला बताउँछन् ।

यिनै विशेषताका कारण हरेक वर्ष पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, तराईका जिल्ला र भारतको सिक्किम–पश्चिम बंगाल राज्यका कैंयौँ तीर्थयात्री कठिन बाटो छिचोल्दै तिम्बुङ पुग्छन् । हरेक वर्ष टोली लिएर तिम्बुङ पुग्दै आएका फिदिमका कवि भवानी तावा यसपल्ट तिम्बुङ जाने टोली बनाइरहेका छन् ।

तिम्बुङ जाने बाटो

तिम्बुङ क्षेत्रमा नजिकै मानव बस्ती छैन । तर चौँरी गोठालाले दर्साउने आत्मीयता र सत्कारले मानवता र सभ्यताको पाठ सिकाउँछ । दुनियाँ स्वार्थी बन्दै गएको बेला अनकन्टार ठाउँमा रहेका गोठमा तीर्थयात्रीले छुट्टै किसिमको आतिथ्यता पाउँछन् । गोठ नै त्यहाँका होटल र लज हुन् । साँघुरो गोठमा गोठालाले सकेसम्मको सुत्ने–बस्ने व्यवस्था मिलाउँछन् ।

खाने कुरामा चामलको दाम मात्र लिन्छन् । चौँरीको दूध, दही र छुर्पी चाख्न दिन्छन् । पवित्रस्थलमा बसेर पवित्र कर्म गर्नुपर्छ भन्ने सोचले वर्षौंदेखि तीर्थयात्रीलाई सेवा दिँदै आएको त्यहाँका गोठाला बताउँछन् । तिम्बुङ यात्रा तय गर्दै हुनुहुन्छ भने न्यानो कपडा, हल्का खालको जुत्ता, टोपी, स्लिपिङ ब्याग र हाई अल्टिच्युडबाट बच्न मकैको सातु, अदुवा, लसुनजस्ता सामग्री बोक्न नबिर्सन याङवरक गाउँपालिका–१, च्याङथापुका मंगल बेघाको सुझाव छ ।

कसरी पुग्ने ?

तिम्बुङ यात्रा त्यति सहज भने अवश्य छैन । पाँचथर सदरमुकाम फिदिमदेखि १८ कोस सुदूरउत्तरमा रहेको तिम्बुङ पुग्न जुनसुकै रुट प्रयोग गरेपनि सवारीसाधनबाट ओर्लेपछि दुई देखि तीन दिन पैदल हिँड्नैपर्छ ।

झापाको चारआलीबाट शुरु हुने मेची राजमार्ग पछ्याएर पाँचथरको गणेशचोकबाट मध्यपहाडी लोकमार्ग प्रयोग गरेर पाँचथरको फलैँचा, ताप्लेजुङको कालीखोला हुँदै तिम्बुङ पुग्न सकिन्छ ।

त्यस्तै, मध्यपहाडी लोकमार्गको उद्गमबिन्दु चिवाभञ्ज्याङ भएर भारतको सिक्किम राज्यका दृश्य नियाल्दै पनि तिम्बुङ जान सकिन्छ भने इलामको पशुपतिनगरबाट सन्दकपुर–फालोट रुट प्रयोग गरेर पनि तिम्बुङको मनसुनी यात्रा तय गर्न सकिन्छ ।