समाचार

बेनी–भकुण्डे सडकमा ट्रयाक खुलेको आठवर्षपछि पनि उस्तै

बेनी, म्याग्दी । बेनी नगर कार्यपालिकादेखि नगरपालिकाको २ नं वडा कार्यपालिका भकुण्डे जोड्ने बेनी–भकुण्डे मोटरबाटो ट्रयाक खुलेको आठवर्ष बितिसक्दा पनि यातायातका साधन चल्ने बन्न सकेको छैन ।

२०६७ सालमा ट्रयाक खुलेको, साढे सात किमी दूरीको बेनी–भकुण्डे सडकको मर्मतका लागि अहिलेसम्म रु ७५ लाख खर्च गरिएको भए पनि न त्यो सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छन् न सडक मर्मत कार्यप्रति स्थानीय र जनप्रतिनिधि नै सन्तुष्ट हुन सकेका छन् । सडक मर्मतका नाममा खर्च भएको लाखौँ रकम बालुवामा पानी हालेजस्तै भएको स्थानीयको गुनासो रहेको छ ।

पटकपटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरुपमा डोजरमात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा सो मोटरबाटोमा यातायातका साधन सञ्चालन हुन नसकेका स्थानीय बासिन्दाको भनाइ रहेको छ । “नगरपालिकाको गेटदेखि वडा कार्यालयको गेटसम्म पुग्ने यो बाटोको स्तरोन्नति र दिगो विकासका लागि जनप्रतिनिधि र सरोकारवाला कसैले ध्यान दिएनन्, खाली बजेट सक्ने काममात्र भयो, बाटोको स्थायित्व भएन” साविकको ज्यामरुककोट गाविस–८ का भूपू वडाध्यक्षसमेत रहेका कृष्णबहादुर सुवेदीले बताए ।

सुवेदीका अनुसार बेनीदेखि भकुण्डेसम्म जानका लागि सल्लेनधारासम्म चारवटा सडक बनाइएको भए पनि कुनै पनि कामलाग्ने अवस्थामा छैनन् । “बेनी–ठूलोगैरा–रोहोटेपानी हुँदै भकुण्डे जोड्ने सडकको सल्लेरीधारा, कन्थराजको थान नजिकको पहरो र ठूलोगैरामा सामान्य वर्षा हुँदासमेत बाटो बिग्रने गरेको छ”, सुवेदीले भने ।

२०६७ सालयता बेनी भकुण्डे सडकमा करीब रु ७५ लाखको हाराहारीमा बजेट खर्च भइसकेको छ । बजेट त सकियो तर सडकको अवस्था भने ज्यूँको त्यूँ रहनुले स्थानीयबासी सरोकारवालासँग यो सडकको अवस्था कहिले सुध्रन्छ भनेर प्रश्न गरिरहेका छन् ।

चालू आर्थिक वर्षमा बेनी–वौर–ठूलोगैरा–खबरा (विरायचौर)–भकुण्डे सडक उपभोक्ता समिति, बाङ्गघरा–पिपलडाँडा–भीरकुना–भकुण्डे सडक उपभोक्ता समिति र ठूलोगैरा–खबरा–भकुण्डे सडक उपभोक्ता समितिको गरी कूल र २६ लाख ५० हजार खर्च गरी मर्मत गरिएको बेनी–खबरा–भकुण्डे सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

सामान्य पानी पर्दा पनि सडक पानीले बगाउने गरेको छ । “कुखुरालाई चारो हाले जस्तो गरी वर्षैपिच्छे थोरैथोरै मात्र बजेट आउने र सो बजेटले सडक मर्मतको थोरै पनि काम नहुने समस्याले गर्दा पनि सडक सवारी चल्न लायक बन्न सकेको छैन”, बेनपा–२ भकुण्डेका समाजसेवी भीमबहादुर पौडेलले बताए ।

बेनीदेखि भकुण्डे वडा कार्यालयसम्म जोड्ने मोटरबाटोसँगै अन्य दुईवटा मोटरबाटोको अवस्था पनि फरक नभएको पाइएको छ । बेनी–ठूलोगैरा–विरायचौर–भकुण्डे, बाङ्गेघरा–पिपलडाँडा–भिरकुना–भकुण्डे र ठूलोगैरा–खबरा मोटरबाटो उपभोक्ता समितिमार्फत बेनी–खबरा–भकुण्डे मोटरबाटो मर्मतको काम हुने गरेको छ । तीनवटा सडकका लागि छुट्टाछुट्टै तीनवटा समिति पनि गठन भएका छन् । तर तीनवटै समितिका अध्यक्ष भने शिवजी सापकोटा नै छन् ।

नगर कार्यपालिकादेखि वडा कार्यपालिका जोड्ने यो मोटरबाटोको अवस्था अत्यन्त दयनीय रहेको र यसमा जनप्रतिनिधि तथा सरोकारवालाको चरम लापर्बाही देखिएको सडक अवलोकनका लागि पुगेका पत्रकार राकेश शर्माले बताए ।

तीनवटै उपभोक्ता समितिका अध्यक्ष सापकोटाले सडक मर्मतको काम राम्रोसँग भएको, आर्थिक हिनामिना नभएको बताउँदै पानी परेर सडक बगाएकाले यातायातका साधन सञ्चालन हुन नसकेको प्रतिक्रिया दिए । अध्यक्ष सापकोटाले भने “बेनी–भकुण्डे सडकमा चल्ने सवारीसाधन नै भएनन्, भकुण्डेबाट जिप बेनी आउनै मान्दैनन्, बेनीबाट पनि भकुण्डे जाँदैनन् ।”

उपभोक्ता समितिका अध्यक्षको यो भनाइले पनि सडकको अवस्था कस्तो छ त भन्ने बुझाउँछ । साथै, सडक केका लागि भन्ने पेचिलो प्रश्न पनि उब्जन्छ । त्यति धेरै खर्च गरेर बनाइएको सडकमा यातायातका साधन चल्न नमान्नुको कारण खोतल्दै जाने हो भने अन्ततः सडकको दयनीय अवस्था र जोखिम नै मुख्य कारण देखिन्छ ।

सर्वसाधारण जनता मात्रै होइन बेनी–भकुण्डे सडकको अवस्था र उपभोक्ता समितिको कार्यप्रति जनप्रतिनिधिसमेत सन्तुष्ट छैनन् । “खबरादेखि माथिको खण्डको सडकको अवस्था राम्रो छ र काम पनि चित्तबुझ्दो गरी भएको छ”, बेनपा–२ का वडाध्यक्ष हीराबहादुर थापाले भने “तर खबराको खण्डमा भएको कामप्रति म पनि सन्तुष्ट छैन ।”

त्यसैगरी, बेनी नगरपालिकाभित्रका सबै वडाका योजना अनुगमनको जिम्मेवारी पाएकी बेनी नगरपालिकाका उपप्रमुख एवं योजना अनुगमन संयोजक सञ्जु बरुवालले बेनी–भकुण्डे सडकको अवस्था र काम गराई मलाई पनि चित्त बुझेको छैन, राम्रोसँग अनुगमन गर्नुपर्ने देखिएको छ भने ।

विभिन्न चरणमा गरी करीब रु ७५ लाख खर्च भइसकेको सो सडकको अवस्था अत्यन्त दयनीय रहनु, सरोकारवालाबाट नै सडक पानीले बगायो भनेर गैरजिम्मेवार जवाफ दिइनु र यातायात सञ्चालन हुन नसक्नुले सो सडक निर्माण र मर्मतमा बदमासी भएको छ भन्ने कुरालाई नै पुष्टि गरेको छ ।