शिक्षा

रुपन्देही क्याम्पस भैरहवालाई क्युएए प्रमाणपत्र

नवलपरासी । रुपन्देही जिल्लामा रहेको रुपन्देही क्याम्पस, भैरहवाले पहिलोपटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।

विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने क्युएए प्रमाणपत्र यसपटक प्राप्त गर्ने नेपालका दुईवटा क्याम्पसमध्ये रुपन्देही क्याम्पस भैरहवा पनि पर्न सफल भएको हो ।

गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट अनुदानलगायतका अन्य सुविधा प्राप्त हुने गर्दछ ।

रुपन्देही क्याम्पस भैरहवा क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल हुनु आफैँमा गर्वको कुरा भएकाले आगामी दिनमा थप शैक्षिक गुणस्तर वृद्धि गरिँदै लगिने योजना रहेको क्याम्पस प्रमुख बाबुराम अर्यालले जानकारी दिए ।

सो क्याम्पसको चौतर्फी विकासका लागि प्राप्त क्युएए प्रमाणपत्र मापदण्डअनुसारको आगामी दिनमा शैक्षिक क्रियाकलाप अघि बढाइने प्रमुख अर्यालको भनाइ छ ।

स्नातक तहको कक्षा सञ्चालन हुँदै आएको रुपन्देही क्याम्पस भैरहवा २०४८ सालमा स्थापना भएको थियो । व्यवस्थापन र शिक्षा संकायतर्फको अध्ययन अध्यापन हुने यस क्याम्पसमा हाल ३१७ जना विद्यार्थी रहेका छन् ।