प्रदेश 1

सिद्धिचरण लोकमार्गको कटारी–ठाँटी सडकखण्ड शुक्रबारदेखि सञ्चालन हुने

गाईघाट, उदयपुर । एक महिनादेखि यातायात अवरुद्ध हुँदै आएको सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–९ हर्देनीको ठाँटी सडकखण्डको अवरुद्ध सडक शुक्रबारदेखि सञ्चालन हुने भएको छ । कटारीस्थित ठाँटीमा पटक–पटक पहिरो जाने भएको र सडक भत्किएर जीर्ण बनेपछि उक्त सडकखण्ड मर्मत कार्य शुरु भएको कुरा सडक डिभिजन कार्यालय सिरहा लाहानका इन्जिनियर चित्र रञ्जनले बताए ।

अब सडक मर्मत कार्य पूर्णरुपमा पूरा भइसकेको र करीब रु एक करोड चार लाखमा सडकको दुवैपट्टि नालासहित भित्तामा कल्भर्ट र सडक मर्मत गरी कालोपत्रेसमेत गरेर सम्पन्न भएको इन्जिनियर रञ्जनले बताए । सडक अब पूर्णरुपमा पुनः मर्मत सम्पन्न भएका कारण शुक्रबारदेखि खुलाउने निर्णय भएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।

उक्त ठाँटी सडकखण्ड पटक–पठक भत्कने र पहिरो झर्नेसमेत गर्दा सिरहा, उदयुर कटारी हुँदै सिद्धिचरण लोकमार्ग भएर ओखलढुंगा–खोटाङ र खोटाङ–ओखलढुंगा हुँदै उदयपुरमा सञ्चालन हुने सम्पूर्ण यातायातका साधन ठप्प हुँदै आएका थिए । अब स्थायीरुपमा नै सडक मर्मत भएका कारण शुक्रबारदेखि उक्त सडकखण्डमा यातायात सञ्चालन हुनेभएको हो ।